सूचनाको शक्ति - The Power Of Information

        

डोल्पामा हिउँ चितुवाको संख्या नेपालमै उच्च

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा आज (शुक्रबार) सार्वजनिक गरिएको छ । नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय संख्या रहेको देखिएको छ । २०८० को वैशाखदेखि भदौसम्म क्यामेरा ट्यापिङ विधिबाट सर्वेक्षण गरिएको थियो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या यकिन गरेको हो ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक १०० वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ । यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको सर्वेक्षणले देखाएको छ । यसैगरी चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रति १०० वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो ।

यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो । यसर्थ डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० हुन गएको छ । जुन संख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ । हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो । यो प्रजाति आफ्नो बासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

ठूलो र दुर्गम भौगोलिक क्षेत्रको बासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ । नेपालमा हिउँ चितुवाको बासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ । यी क्षेत्रहरू बासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्वपूर्ण छन् ।

पूर्वी डोल्पा नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँ चितुवाको संख्यालाई जोडेको छ । यस महत्त्वलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यो महत्त्वपूर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

हिँउ चितुवा विश्वमा नै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा चार हजारदेखि ६ हजार ५०० को संख्यामा रहेको अनुमान गरिएको छ । हिउँ चितुवाका लागि नेपाल चौथो राष्ट्रमा पर्दछ र जहाँ ३०० देखि ४०० संख्यामा हिउँ चितुवा पाइने विश्वास गरिएको छ । यस हिसाबले हिउँ चितुवा अवलोकनका लागि विश्वमा नेपाल र नेपालमा डोल्पा एक प्रमुख गन्तव्य स्थापित छ ।

डिभिजन वन कार्यालय डोल्पाको कार्यक्षेत्रभित्र गरिएको यस सर्वेक्षणले छार्का ताङसोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्जबाहिर रहेका क्षेत्रमात्र समेटेको थियो । हिमाली भूभागमा पर्ने करिब दुई हजार वर्गकिलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको थियो । यो अध्ययनमा ३३ जना नागरिक वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीनजना विद्यार्थी र दुईजना डब्लुडब्लुएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताहरू सामेल थिए ।

वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्व अनि डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पादित यस सर्वेक्षणका लागि ६६ ठाउँमा ‘क्यामेरा ट्र्याप’हरू जडान गरिएका थिए । यो सर्वेक्षणले पहिलोपटक संरक्षित क्षेत्रबाहिर बाक्लो संख्यामा हिउँ चितुवा रहेको बलियो प्रमाण मात्र देखाएको छैन, नेपालमा हिउँ चितुवाको संख्या बुझ्न पनि सघाएको छ ।

यस सर्वेक्षणले संरक्षित क्षेत्रबाहिर पनि प्रभावकारी संरक्षणका प्रयासहरूको आवश्यकता रहेको पुष्टि पनि गरेको वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताए । डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षण गर्नमा विभिन्न प्रयास भइराखेको उल्लेख गर्दै नेपाल सरकारलाई सहयोग गर्न र हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा थप जिम्मेवार हुन प्रेरित गरेको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १८:४३