सूचनाको शक्ति - The Power Of Information

        

नेपालले मान्यता दिएको समलिङ्गी विवाहको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रशंसा

लमजुङको दोर्दी गाउँपालिका कार्यालयबाट विवाह दर्ताको प्रमाणपत्र लिँदै समलिंगी जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डे । फाइल तस्वीर

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दावी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ । नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दावी सरकारले प्रस्तुत गरेको हो ।

नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले लैङ्गिक समानता नीति २०७७ मै लागू भएको बताइन् ।

‘लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ,पहिलो समलिङ्गी विवाह दर्ता भएको छ,’मन्त्री चौधरीले भनिन्, ‘विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारी छ ।’

मन्त्रालयले नीति परिमार्जन गर्ने समेत भनेर छुट्टै निकाय तोकेको उनले बताइन । ‘पिंक टुरिजमका लागि हाम्रा होटलहरु, हेरिटेजहरुमा भएका व्यक्तिहरूले सर्भिस डेलिभरी, हस्पिटालिटी लैङ्गिकमैत्री छ, त्यो सुरु भैसकेको छ,’उनले भनिन्, ‘प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ ।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना भएको सम्मेलनमा मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको भन्दै पूर्ण रूपमा कार्यान्वयनको क्रममा रहेको जानकारी दिइन् ।

नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले लेस्बियन विवाह दर्ताको प्रमाणपत्र दिएको छ । सम्मेलनमा त्यसको प्रशंसा गरिएको छ ।

मन्त्री चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पु¥याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताइन् । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गरिन् ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि सुरक्षित रहेको बताए । समलिङ्गी विवाह दर्ता हुन थालेको भन्दै न्यायाधीश फुयालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दनी लाय थापाले पिंक टुरिजमका लागि नेपाल गन्तव्य मुलुक बन्ने सम्भावना रहेको बताइन । उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याउन पर्यटन बोर्डले काम गरिरहेको बताइन् ।

एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताए ।

उनले अरू देशमा जस्तो नेपालमा आउँदा डराउनु पर्ने अवस्था नरहेको बताए । नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका १४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताइन् ।

‘१४५ देशहरूमा नेपालको अवस्थामा राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ । प्रगति राम्रो भएको छ,’उनले भनिन्, ‘समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवनस्तर माथि उकास्ने काममा युरोपियन युनियनले सहयोग गर्दै आएको जानकारी दिइन् । नेपालमा इन्द्रेणी पर्यटनको सम्भावना अन्य देशमा भन्दा राम्रो देखेको राजदूत लोरेन्जोले बताइन् ।

इन्द्रेणी पर्यटनको विश्व बजार

गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको ग्लोबल अवलोकन र अर्थतन्त्र–जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी ९रेन्बो० पर्यटनको बजार विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको बताइन् ।

अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको बताइन् । उनले तीन वटा देशमा कोभिडको समयमा ४ ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको अध्ययन सुनाइन् ।

विश्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जनसङ्ख्या ३० करोड रहेको बताइन् । ‘यो कुल जनसङ्ख्याको ६.५ प्रतिशत हुन आउँछ,’ उनले भनिन्, ‘उनीहरू धेरै घुम्न रुचाउने हुन्छन् ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि थाइल्यान्ड यौन पर्यटनले चिनिएको र ग्रिसमा पछिल्लो समय सुरक्षा नभएको बताइन् ।

विपद्का घटना भएका ठाउँमा पर्यटन गतिविधि गर्ने पहिलो समुदाय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको उनले सुनाइन् । पर्यटन सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गरे भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरे । पर्यटन सम्मेलनमा मारुनी नृत्य प्रस्तुत भएको थियो ।

स्रोत : रासस
प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १८:२६