सूचनाको शक्ति - The Power Of Information

        

पूर्वाधार विकासले मुहार फेर्दै बालमन्दिर

संरक्षणको अभावमा जीर्ण बन्दै गएको नेपालगन्ज उपमहानगरपालिका–९ बाँके बगियास्थित बाल मन्दिरले पूर्वाधार विकाससँगै मुहार फेर्दै गएको छ । संरक्षणको अभावमा जीर्ण बनेका भवनको रङरोगन गर्नुका साथै बालमन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएसँगै अहिले बालमन्दिरको मुहार नै फेरिएको छ ।

‘बालमन्दिर परिसरमा रु.६ करोडको लागतमा तयार हुनेगरी छात्राबाससहितको विद्यालय निर्माण कार्य सुरु भएको छ,’ नेपाल बालसङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यले भने, ‘तीनतले अत्याधुनिक भवन निर्माणका लागि पहिलो चरणमा यस वर्ष रु एक करोड ४५ लाखको लागतमा पहिलो तला असारभित्र सम्पन्न गर्नेगरी हाल निर्माण कार्य भइरहेको छ ।’

हाल बालमन्दिरको भवन जीर्ण तथा साँघुरो रहेका कारण अध्ययन अध्यापनमा असहज भएपछि नयाँ भवन निर्माण थालिएको छ । नयाँ बन्ने भवनको पहिलो तलामा विद्यालय, दोस्रोमा छात्राबास र तेस्रो तलामा विद्यालयको पठनपाठन हुने योजना रहेको उनको भनाइ छ । बालमन्दिरमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् ।

आचार्यले दुई वर्षअघिसम्म ४० विद्यार्थी रहेकामा अहिले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताए । भौतिक निर्माणसहित शैक्षिक गुणस्तर सुधारका लागिसमेत पहल थालिएको उनले बताए । बालमन्दिरमा रहेको सभाहल जीर्ण रहेको छ । कोभिड सङ्क्रमणको समयमा उक्त सभाहलमा सामान्य मर्मतसम्भार गरी आइसोलेशन केन्द्र सञ्चालन गरिएको थियो ।

बालमन्दिरको पूर्वाधार विकाससँगै मुहार फेरिएपछि विद्यार्थी पनि बढ्दै गएको उपमहानगरपालिकाको वडा नंं ९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए । बालमन्दिरको करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ । पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा कार्यक्रम गर्नका लागि उक्त भवन प्रयोगमा आउने गरेको भए पनि त्यसपछि प्रयोगमा नआएकाले जीर्ण बन्दै गएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

बालमन्दिरको जग्गा तथा भवनको सुरक्षा, सम्वद्र्धन तथा बालबालिकाको हकहित र संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बालसंगठन केन्द्रीय कार्यालयले नेपाल बालसङ्गठन बाँकेमा नयाँ पदाधिकारी नियुक्ति गरेसँगै बालमन्दिरको चहलपहल बढ्दै गएको उनको भनाइ छ ।

स्थानीय सरकार, प्रहरी, प्रशासन तथा सबैको साथ र सहयोगमा बाल सङ्गठनको विधि तथा विधानअनुसार उक्त खाली जग्गा र भवनको संरक्षण, सम्वद्र्धन गर्दै उचित योजना बनाएर बालमन्दिरको अत्याधुनिक भवन निर्माण कार्य सुरु गरिएको नेपाल बाल सङ्गठनका सभापति आचार्यले बताए ।

‘बिग्रे भत्केको ठाउँलाई सबैको साथ, सहयोग र सहभागितामा राम्रो बनाउने प्रयासमा निरन्तर लागिपरेको छु, अत्याधुनिक भवन निर्माणको सुुरुआत भएको छ,’ उनले भने, ‘जीर्ण र लथालिङ्ग अवस्थामा रहेको भौतिक संरचनालाई स्थानीय सरकारसँगको समन्वयमा मुहार फेर्र्न योजना बनाएर काम गरेका छौँ ।’

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १५:५९