सूचनाको शक्ति - The Power Of Information

        

वैकल्पिक गठबन्धन बनाउने कसरतमा देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेकपा एमालेका कारण अन्यौल भइरहेको बेला देउवा र नेपालबीच यस्तो सहमति भएको हो ।

बुधबार साँझ कांग्रेस नेता डा.नारायण खड्काको निवासमा देउवा र नेपालबीच भेटवार्ता भएको थियो । उनीहरुबीच करिब डेढ घण्टा सुदूरपश्चिम सरकारबारे छलफल भएको स्रोतको भनाइ छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्नेगरी उनीहरुबीच कुरा छलफल भएको थियो ।

केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिनेबारे समेत देउवा र नेपालबीच छलफल भएको र वैकल्पिक गठबन्धन बनाउन प्रयास जारी राख्ने पनि उनीहरुबीच सहमति भएको बताइएको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

तर, सोडारीका पक्षमा एमाले देखिएको छैन । गठबन्धनमा असन्तुष्ट अध्यक्ष नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ । यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पनि विवाद छ । नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहेपनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन् ।

देउवा र नेपालबीच वैकल्पिक गठबन्धन बनाउन जसपालाई फकाउँदै नाउपालाई सँगै लिएर बढ्नेबारे गृहकार्य सुरु भएको छ । देउवाले माधव नेपाललाई प्रधानमन्त्री बनाएर भए पनि प्रचण्डसँग बदला लिनको लागि एमाले नेतृत्वको गठबन्धन भत्काउन चाहन्छन् । त्यसो त यसअघि नै देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको होइन ।

देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । यो नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो । सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज ५ बजे सकिँदैछ । तर, एमालेको अडानबाट चुइँक्क भएको छैन । यही मौका देउवा वैकल्पिक गठबन्धन निर्माण गर्न अध्यक्ष नेपालसँग छलफल थालेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १५:११