सूचनाको शक्ति - The Power Of Information

        

विकास निर्माणमा तदारुकता

योजना कार्यान्वयमा ‘अब्बल’ खजुरा, संरचनागत विकासमा फड्को

खजुरा गाउँपालिका जिल्लामै योजना कार्यान्वयनमा अगाडि देखिनुका साथै संरचनागत विकासमा फड्को मारेको छ ।

करिब दुई दशक जनप्रतिनिधिविहीन बनेका स्थानीय तहले जनप्रतिनिधि प्राप्त गरेपछि सबैभन्दा आशा भौतिक पूर्वाधारमा गरेका थिए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने बाटो, नाली, भवन र पुलपुलेसाको निर्माण गर्नुपर्ने हरेक स्थानीयतहका लागि चुनौती थियो । विकासका लागि पहिलो प्राथमिकता बाटोे नै स्थानीयको बुझाइमा विकास पर्ने गर्दछ ।

त्यसैले पनि स्थानीय तहमा जनप्रतिनिधि आएसँगै जनताको पहिलो आशा भनेको बाटो र भौतिक पूर्वाधारका काम रहेको थियो । बाँकेको खजुरा गाउँपालिकाले स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा जिल्लाको उदाहरणीय कार्य गर्दै भौतिक निर्माणको क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको पाइएको छ । सडक निर्माण, सडकको स्तरोन्नति, मर्मत तथा नाली निर्माणजस्ता काममा उल्लेख्य कार्य गर्दै आएको खजुराका दूरदराजका सडकहरूले मुहार फेर्दै गएका छन् ।

स्थानीय तह निर्माणसँगै विभिन्न चुनौतीहरूको सामना गर्दै भौतिक निर्माणमा उल्लेख्य कार्य गरेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ले बताए । पालिकाले कृषि क्षेत्रको विकासको लागि र कृषकको प्रत्यक्ष सरोकार राख्ने चिस्यान केन्द्र सबै वडाका निर्माण सम्पन्न गरिसकेको छ । खजुरा गाउँपालिका जिल्लामै योजना कार्यान्वयनमा अगाडि देखिनुका साथै संरचनागत विकासमा फड्को मारेको छ ।

संरचनागत विकासमा फड्को मारेसँगै पूर्वाधार विकास निर्माणमा बाँकेको खजुरा अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको हो । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ले बताए । गाउँपालिकाले वडा कार्यालय भवन निर्माण, कालोपत्र सडक, आधुनिक सडक निर्माणको कार्यसँगै नयाँ सडक निर्माणमा जोड दिएको छ ।

स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकताले विकासले गति लिएको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बताइन् । जनताको आवश्यकता अनुसार सेवा प्रवाहलाई सशक्तरुपमा गाउँकेन्द्रित गरिएको गाउँपालिका उपाध्यक्ष मल्लको भनाइ छ । स्थानीय सरकार गठनपश्चात् भौतिक पूर्वाधार क्षेत्रका संरचनागत विकासमा खजुराले उल्लेख्य सफलता हासिल गरेको गाउँपालिका उपाध्यक्ष मल्लले बताइन् ।

गाउँपालिकाले विकास, निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका विभिन्न क्षेत्रमा योजनाहरु तदारुकताका साथ कार्यान्वयन गरिरहेको पनि उपाध्यक्ष मल्लको भनाई छ । आर्थिक तथा सामाजिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको गाउँपालिकाका अध्यक्ष बिकले बताए । उनका अनुसार गाउँपालिकाले १३ ओैं गाउँसभाबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा तदारुकता देखाएको छ ।

पुँजीगततर्फका विकास आयोजनालाई समयमै छिटोछरितो र पारदर्शी रुपमा निर्माण सम्पन्न गर्न अनुगमन तथा मूल्यांकनको कामलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । पालिकाले चालू आर्थिक वर्ष २०८०–०८१ मा विनियोजित वार्षिक बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएको हो । गाउँपालिकाले अधुरा कामलाई पूर्णता दिने र दीगो विकासका नयाँ आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न तदारुकता देखाएको छ ।

अध्यक्ष बिकका अनुसार कार्य सम्पादनमा थप सुधार ल्याउने गाउँपालिकाको लक्ष्य छ । गत फागुन ३ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–०८१ को कार्य सम्पादन मूल्यांकनमा खजुराले ५५.८८ प्रतिशत अंक पाएको थियो । विभिन्न १७ वटा सूचकका आधारमा आयोगले स्थानीय तहले प्राप्त गरेको मूल्यांकनका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण तथा विषेश अनुदान रकमको बाँडफाँड गर्ने गर्दछ ।

सोही आधारमा सूचकमा सुधार भए आगामी वर्षको बजेट बढ्न सक्ने प्रक्षेपण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–०८१ मा निर्माण भइरहेका आयोजनाको अनुगमनलाई तीव्रता दिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, बिजुली र पर्यटनका क्षेत्रमा लक्ष्यअनुरुप क्रमिक विकास र सुधारलाई प्राथमिकता दिनुका साथै राजस्व संकलनलाई छिटोछरितो, सरल र प्रविधिमैत्री बनाउन अनलाइन करदाता पोर्टलको शुरुवात गरिएको छ ।

आयोजनाको अनुगमनलाई तीव्रता

यस्तै, पालिका अन्तर्गतका सबै वडामा खानेपानीको सुविधा पुर्याउने लक्ष्य अनुसार निर्माणाधीन अधुरा खानेपानी आयोजनालाई पूर्णता दिने र सबै घरधुरीमा आगामी तीन वर्षभित्र शुद्ध खानेपानी विस्तार र कार्यान्वयनको चरणमा लैजाने गाउँपालिकाका अध्यक्ष बिकले बताए । गाउँपालिकामा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका आयोजना चालु आर्थिक वर्ष अगावै सम्पन्न गरिने उपाध्यक्ष मञ्जु मल्लको भनाइ छ ।

यस्तै, शैक्षिक विकासका लागि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । शिक्षा तथा खेलकुदतर्फ ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’को अवधारणालाई सार्थक बनाउन पालिकाले शैक्षिक विकास र गुणस्तर सुधारमा विषेश जोड दिएको छ । गाउँपालिकालाई शैक्षिक गन्तव्य (हब) बनाइ सहर वा विदेश गएर मात्रै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने बुझाइलाई चिर्दै उत्कृष्ट शिक्षा दिलाउन उपयुक्त योजना बनाइने गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकारले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ स्थानीय राजपत्रमा प्रकाशन गरि कार्यान्वयनमा ल्याएसँगै ३० वटै सामुदायिक विद्यालयमा आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क तथा अनिवार्य शिक्षाको अवधारणा लागू गरिने भएको छ । जसअनुसार स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै विद्यालय र सरोकारवाला निकायलाई परिपत्र गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए ।

गाउँपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा दिइरहेको छ । केही निर्माण सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा छन् । त्यस्तै, कुल ५ करोड ३६ लाख ४ हजार ७४६ रुपैयाँमा गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन र जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन ऐलानी प्रति जग्गाको नाप नक्सांकन, निस्सा वितरण र नापी कार्य भइरहेको छ ।

स्वास्थ्यतर्फ सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यसहित सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण, जनशक्ति तथा औषधी व्यस्थापनमा जोड दिइएको छ । त्यस्तै खजुरा गाउँपालिकाले सञ्चालन गरेको ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ ल्याएको थियो ।

स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस्तै, ११ करोड, ८२ लाख २२ हजार ३८५.४० रुपैयाँ लागतमा १५ शैय्याको आधारभूत अस्पतालको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । अस्पतालको आगामी बैशाखदेखि नागरिकलाई २४सै घण्टा सेवा प्रवाह गर्ने गरी सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।

यातायात पूर्वाधारतर्फ ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रेको काम ठेक्का सम्झौता भइ निर्माण भइरहेको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा चालू आर्थिक वर्ष २०७९–०८० मा संघीय सरकारको समपूरक अनुदानबाट ६ किलोमिटर सडक कालोपत्रेको काम अघि बढाइएको छ । पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’सहित पर्यटकीयस्थल बनाउने भएको छ ।

गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे र वडा नं.२ मा सहिद पार्क बनाउन लागेको छ । गाउँपालिकाले विकास निर्माणका काम छिटोछरितो रुपमा सम्पनन गर्नका लागि सहज होस् भनेर लोडर, रोलर र जेसिबी खरिद गरेको छ । गाउँपालिकाले सडक निर्माण, मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसिबी खरीद गरेको गाउँपालिका अध्यक्ष बिकले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार ११:२३