सूचनाको शक्ति - The Power Of Information

        

सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ

हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष समेत रहेका गुरुङसहित कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक समिति सदस्य नवीन अछामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए । ११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो ।

तर पक्राउ परेकाहरूले ठगीको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा नचलाउने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा पठाएको थियो । सरकारी वकील कार्यालयले पनि रकम फिर्ता भइसकेकाले मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू छुटेका थिए ।

तर गुरुङविरुद्ध अर्को सहकारी कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको रकम अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी थियो । कल्याण उपकारका अध्यक्ष समेत रहेका गुरुङलाई ललितपुर प्रहरीले सीआईबीबाट मंगलबार जिम्मा लिएको थियो ।

उनीसहित सञ्चालक समितिका सात जनाविरुद्ध जाहेरी परेको थियो । सातै जनाविरुद्ध पक्राउ पूर्जीसमेत जारी भए पनि बाँकी ६ जना भने अहिलेसम्म फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो सहकारीले १८ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै ९६ जनाको जाहेरी ललितपुर प्रहरीमा परेको छ । अहिले थप ४२ जनाको जाहेरी आइसकेको र उनीहरूको कति रकम ठगी भएको छ भन्नेबारे हिसाब भइरहेको प्रहरीले जनाएको छ ।

यस सहकारीबाट अन्य बचतकर्ता पीडित भएको भए ललितपुर प्रहरीमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १६:४६