हरियो तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । पछिल्लो पटक एउटा जन्मदिनको पार्टीमा विषादीयुक्त तरकारी खाएकै कारण परिवारका सात जना बिरामी परेका छन् ।
भरतपुर महानगरपालिका–८ गौरीगन्जका माधव रिजाल सोमबार दिनभरि नै चितवन मेडिकल कलेजमा भर्ना भएर बस्नुभयो । उहाँले आइतबार साँझ आफ्नै भाउजु कौशिला रिजालको जन्मदिनमा हाटबजारबाट खरिद गरेर ल्याएको बोडीको तरकारी खाएपछि बिरामी पर्नुभएको हो । “मलाई मात्रै हैन परिवारका सात जना सदस्यलाई झाडाबान्ता भयो । तीन जनालाई त अस्पतालमै भर्ना गरेर उपचार गरिएको हो,” उहाँले भन्नुभयो, “हामीले हाटबजारबाट ल्याएको बोडीकै तरकारीमा विषादी रहेछ थाहै भएन ।”
जन्मदिनको भोज खाने १० जनामध्ये तरकारी नखाने बालबालिका मात्रै बिरामी नपरेको उहाँले बताउनुभयो । बोडीको तरकारी खाएका सबै जनालाई पेट दुख्ने, बान्ता र पखाला लाग्ने समस्या भएको हो ।
“देख्दा सर्लक्क परेको तनेबोडी राम्रो होला भनेको त सबै विषादी राखेर पो सर्लक्क बनाइएको रहेछ,” उहाँले भन्नुभयो, “तत्काल विषादी राखेका तरकारी किसानले बजारमा ल्याउँदा समस्या भएको हो ।” कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी उमराज अर्याल अहिले बजारमा विषादी भएको तरकारी आएको स्विकार्नुहुन्छ ।
“अहिले करेला, बोडी र लौका जस्ता तरकारीको अपसिजन हो । यो बेला बढी विषादी प्रयोग नगरी रोग किराबाट बचाउन सकिँदैन । त्यसैले पनि किसानले जथाभाबी विषादी प्रयोग गरेर तरकारी उत्पादन गरिरहेका छन्,” उहाँले थप्नुभयो, “विषादीको मात्रा हेरेर हप्ता १० दिनदेखि एक्काइस २२ दिनसम्म राख्नुपर्ने तरकारी हतार हतारमा बजार लगिँदा स्वास्थ्यको समस्या पर्ने गरेका छन् ।”
महानगर तरकारी तथा फलफूल बजारभित्र स्थापना गरिएको विषादी परीक्षण ल्याबमा दुई किसिमका विषादी मात्रै परीक्षण गरिन्छ । ल्याबमा कार्बामेट र अर्गानोफस्फेट विषादी परीक्षण गरिन्छ, जुन अहिले खासै प्रयोग हुँदैन । यो विषादीलाई सरकारले प्रतिबन्धसमेत गरेको छ । तरकारी तथा फलफूलमा नयाँ नयाँ किसिमको विषादी प्रयोग बढ्दा त्यसको परीक्षणमा समेत समस्या भएको बताइन्छ ।
नेपालमा २४ किसिमका विषादीलाई प्रतिबन्ध लगाइएको छ तर पनि लुकीछिपी प्रतिबन्धित विषादीको बिक्री र प्रयोग हुँदै आएको छ । भरतपुरका फिजिसियन डा. भोजराज अधिकारी तरकारीको विषादीले मानिसलाई श्वासप्रश्वास र पेटमा समस्या हुने बताउनुहुन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । चितवन