बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् ।
विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ ।
उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए ।
स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताए ।
उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उनले जोड दिए ।
सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताए ।
देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उनको भनाइ छ ।
उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताए । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उनले जानकारी दिए ।
उनले उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गरे ।
यसैबीच, उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ ।
अहिले सञ्चालन हुँदा दैनिक पाँच लाख घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक १० लाखभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उनको अनुरोध छ ।
स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् ।
उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताए । उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए ।
ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताउनुभयो । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके