सूचनाको शक्ति - The Power Of Information

        

आज चैते दशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

हिन्दू धर्मालम्बीको पर्व चैते दशैँ आज नेपालभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्ठमीका दिन यो पर्व मनाइँदै आएको छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् ।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ । चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ ।

नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ । नवदुर्गाको पूजा आराधना गरी चैते दशैँ मनाइन्छ भने विभिन्न देवीका मन्दिरहरुमा भक्तजनले बली चढाउने र पूजा गर्ने गर्छन् । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिएको संस्कृतिविदहरु बताउँछन् । आज देवीको पूजा गरी विभिन्न कोटमा बली चढाउने प्रचलन समेत रहिआएको छ ।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न देवीका मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने हनुमानढोकामा बलीसहितको पूजा गर्ने गरिन्छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका जेष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वास गरिँदै आएको छ । उनको जन्म भएको विश्वासका साथ रामनवमी मनाउँदै आएको पाइन्छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन ।

केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुप देवीको आराधना गर्छन् । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यस्तै उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिका देवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ०७:३७

लोकप्रिय