सूचनाको शक्ति - The Power Of Information

        

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ ।

सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो । समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै अब ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

समूह ए मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

साउदी २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । साउदीले अब मंगलबार कतार र बुधबार नेपालसँग खेल्ने छ । दुवै खेलमा विजयी भएमा साउदी सोझै सेमिफाइनलमा पुग्नेछ । एक खेलमा पराजित भएमा भने अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नेछ ।

मलेसिया, कतार र हङकङको समान ३ खेलमा २-२ अंकका साथ क्रमश: तेस्रो, चौथो र पुछारमा छन् । अन्य चार टोलीको नै सेमिफाइनल खेल्ने समीकरण बाँकी छ । समूह बी मा ओमान र यूएईको सुरुवाती २ खेलमा ४–४ अंक छ ।

ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । ओमान र यूएईबीच आज खेल हुँदैछ । यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ ।

प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १७:१४

लोकप्रिय