सूचनाको शक्ति - The Power Of Information

        

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै

 नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’  हुने भएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण रुपमा सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुवाती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०७:२३