बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएको छ । सो परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँपालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवनस्तरमा सुधार आएको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरेका किसान क्रमशः आत्मनिर्भर बन्न थालेका छन् ।
सो परियोजनामार्फत किसान कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेको तरकारी तथा फलफूलको माग बाँके जिल्लामै उच्च रहेको पाइएको छ । बाँकेको खजुरा गाउँपालिका–३ बी गाउँका कृषक राजकुमार गुरुङले आफूहरूले गरेको तरकारी खेतीबाट उत्पादित तरकारीलाई बजारको कुनै समस्या नरहेको बताएका छन् ।
उनले तरकारी नेपालगन्जसम्म पुर्याउन केही समस्या भएपनि बजारको कुनै चिन्ता नरहेको बताए । पछिल्लो समयमा बाँकेमा राम्रो तरकारी उत्पादन भइरहे पनि नेपालगन्जका ठुला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा स्थानीय कृषक मर्कामा परेको अधिकांश किसानको गुनासो छ ।
खजुराकै अर्का किसान रमेश थापाले ठुला व्यापारीले भारतबाट ठुलो मात्रामा तरकारी ल्याउँदा स्थानीय तरकारीले भाउ नपाउने र थोक व्यापारीले लिन नमान्दा किसानले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । तरकारी खेतीमा लागेका विभिन्न कृषि समूहलाई अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएका छन् ।
पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताए । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्थानीय किसानको जीवनस्तर उकास्न ठुलो सहयोग गरिरहेको बताए । भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने जिकिर अध्यक्ष विकले गरे ।
कृषि क्षेत्रको विकासका लागि खजुरा गाउँपालिकाले विशेष रणनीतिअनुसार काम गर्दै आएको छ । पालिकाका अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको जानकारी दिए । उनका अनुसार क्रमशः खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेट क्षेत्रका रूपमा परिचित हुँदै गएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके