सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका १६ वटा नेपाल–भारत सीमा स्तम्भ हराए

बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल–भारत सीमा स्तम्भ हराएका छन् ।

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ वटा सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिनुभयो ।

हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो । नरैनापुर–१ हुलासपुर्वाको सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ वटा सीमा स्तम्भ छन् ।

कुनै पनि सीमा स्तम्भको मर्मत र रङरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।

दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ वटा सीमा स्तम्भ रङरोगन गरेको छ ।  दुई देशको संयुक्त टोलीले टुङ्गो लगाउन बाँकी एक सय ७१ वटा सीमा स्तम्भकोे मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन् ।

बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन । ६५ किलोमिटरमा सशस्त्र प्रहरीले १० वटा बोर्डर आउट पोष्ट (बिओेपी) राखेर सुरक्षा दिइरहेको छ । भारततर्फ भने २३ वटा बीओपी रहेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार १८:०८