सूचनाको शक्ति - The Power Of Information

        

डोल्पा : डढेलोमा परेर घाइते भएका तीनैजना बालकको ज्यान गयो

त्रिपुरासुन्दरी नगरपालिका–४ सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनैजना बालकको ज्यान गएको छ । गएको बिहीवार आगलागी घटनामा परेका तीनैजना बालकको ज्यान गएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीबाट गम्भिर घाइते भएका १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको आज काठमाण्डौमा ज्यान गएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गएको शुक्रवार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा ज्यान गएकोे थियो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीनजना बालकको आगलागीमा परेर ज्यान गएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो ।

त्रिपुरासुन्दरीले घाइते दुईजना बालकलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ पठाएको थियो । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार रुपैयाँ लागेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो ।

खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ । यसअघि डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीनजना सैनिकको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार १८:०३