सूचनाको शक्ति - The Power Of Information

        

नयाँ वर्ष शुभारम्भ, २०८१ को उल्लासमय शुभकामना !

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिष्ठान्न भोजन बाँड्दै, सांस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् दृढसंकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वत्का रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरूपमा यो सम्वत् चल्छ ।

भारतमा सरकारी सम्वत् शक सम्वत् भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ । विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वत्मध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविद्हरू बताउँछन् ।

सत्यपाटीका पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मी लगायत सम्पूर्ण नेपालीका लागि सुख, समृद्धि र सुस्वास्थ्यको कामनासहित वर्ष २०८१ को शुभकामना ! २०८१ साल उल्लासमय बनोस् !

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार ०६:५६

लोकप्रिय