सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा थालेसेमिया पीडित बालिकाको जटिल शल्यक्रिया

पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रुपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ नयाँ उपचार सेवा विरामीलाई उपलब्ध गराउन थालेको छ ।

सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट पीडित बर्दियाकी एक बालिकाको स्पलेनोरेनल शन्ट नामक शल्यक्रिया पहिलो पटक सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका अनुसार बारबर्दिया नगरपालिका–११ वेलभार बर्दियाकी ११ वर्षीया बालिकाको चैत १८ गते शल्यक्रिया गरिएकोमा २५ गते उनलाई डिस्चार्ज गरिएको थियो ।

अस्पतालका ग्यास्ट्रो सर्जन डा.कृष्णमोहन अधिकारीको नेतृत्वमा गरिएको सो जटिल शल्यक्रिया गर्ने टोलीमा खजुरा क्यान्सर अस्पतालका कार्डियो थोरासिस भास्कुलर सर्जन डा.निरज भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, सर्जनहरु डा.सन्तोष श्रीपाइली र डा.कमल हसन अन्सारी, डा.विधान पौडेल लगायत नर्सिङ्ग स्टाफहरुको सहभागिता रहेको थियो ।

ग्यास्ट्रो सर्जन डा. अधिकारीका अनुसार थालेसिमिया भएको बिरामीलाई रगत चढाइरहदा फियो सुन्निएर फियो फाल्नुपर्ने अवस्था आउँन सक्छ । यो शल्यक्रियामा फियो निकालेर त्यहाँको रक्तनलीलाई लिएर मिर्गौलाको रक्तनलीमा जोडिन्छ ।

सामान्य मानिसमा आन्द्रामा हुने रगतको सञ्चार कलेजोसम्म पुग्नुपर्ने हुन्छ तर यो समस्या भएको बिरामीमा कलेजो सुन्निएको र आन्द्रामा भएको रगतको नशाहरु गुजल्टिएर बसेको कारणले गर्दा रगत कलेजोसम्म पुग्न पाएको हुँदैन ।

यसकारण फियोको रक्तनलीलाई मिर्गौलाको रक्तनलीमा जोडेर कलेजोसम्म रगत सञ्चार सहज बनाउने गरिन्छ । यो शल्यक्रियालाई जटिल शल्यक्रिया मानिने डा. अधिकारीले बताउनुभयो ।

ती बालिकालाई तीन वर्षको उमेरमा थालेसिमिया पुष्टि भएको थियो । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले ती बालिकालाई थालेसिमिया भएको पुष्टि गर्नुभएको थियो । वंशानुगत यो रोग थारु समुदायमा धेरै देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

शरीरमा रगतको मात्रा कम भएर बिरामीको स्वास्थ्य अवस्थालाई जटिल पार्ने यो रोगबाट प्रभावित ती बालिकाले प्रत्येक महिना रगत चढाउँदै आएकी थिइन् ।

भेरी अस्पतालका वरिष्ठ ग्यास्ट्रो सर्जन डा.अधिकारीका अनुसार यस प्रकारको शल्यक्रिया काठमाडौंका एक दुई ठाउँमा हुने गरेको भए पनि काठमाडौं बाहिर सम्भवत नेपालगन्जमै पहिलो पटक गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १२:३२

लोकप्रिय