सूचनाको शक्ति - The Power Of Information

        

पहिरोका कारण रित्तिँदै चौरखानी

म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए ।

‘विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।’ वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन् । आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँ लगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् ।

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप ६ वटा घर पुनःनिर्माण भइरहेको छ । गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि पाँच लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराएको उनले बताए । ‘पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ’, उनले भने, ‘रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।’

यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ । हाल दलित समुदायको एउटा मात्र घर छ । भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ । खेतबारी र जंगल चिराचिरा परेको छ । पहिराले उठिबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताए । उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्छन् ।

दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए । बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन । पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०८:२३

लोकप्रिय