सूचनाको शक्ति - The Power Of Information

        

इरानमाथि आक्रमण गर्ने इजरेलको धम्की

इजरेलका विदेशमन्त्रीले बुधबार इरानले इजरेलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ ।

विदेशमन्त्री इजरेल काट्जले फारसी र हिब्रु दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको छ, ‘यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्यो भने इजरेलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।’

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजरेलविरुद्ध जवाफी कारवाही गर्ने वाचा दोहोर्याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजरेललाई दोष दिएको छ । इजरेलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि इजरेलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ ।

यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो । खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताए ।

इरानी राज्य टिभीमा प्रसारित टिप्पणीमा उनले भने, ‘उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ ।’ काट्ज र खमेनी दुवैले कस्तो प्रकारको जवाफी कारवाही गर्ने भन्नेबारे विस्तारमा बताएका छैनन् ।

अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए । खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजरेलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गरे ।

‘उनीहरूले यो प्रकोपमा इजरेललाई रोक्नेछन् भन्ने अपेक्षा गरिएको थियो, उनीहरूले त्यसो गरेनन्, पश्चिमी सरकारहरूले आफ्नो कर्तव्य पूरा गरेनन्,’ उनले भने । इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजरेलविरोधी समूहहरूलाई समर्थन गर्दछ । उसले इजरेललाई मान्यता दिँदैन ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०८:१८

लोकप्रिय