सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा बिचौलियाको खेलबाड

स्वास्थ्यमै दलाली : सरकारी अस्पतालका बिरामी निजीका ‘पाहुना’

भेरी अस्पतालमा सामान्य उपचार गर्न आउने बिरामीलाई ‘मुर्गा’ बनाउन दलालको जालो फैलिएको छ ।

उपचारका लागि भेरी अस्पताल पुगेका सुर्खेत गुभौकोट नगरपालिका–२ का रमेश घर्तीलाई अस्पतालको गेटबाटै तीन–चार जना युवाले सोझै नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याए । पथ्थरी सम्बन्धी चेकजाँजका लागि आएका बुढा सरकारी अस्पतालमा जेकजाँच गर्न नपाउँदै निजी अस्पतालको ‘पाहुना’ बन्ने ।

संघीय सरकार मातहत रहेको भेरी अस्पतालको सहुलियत सेवा लिन आएका घर्ती ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार बुढा पाउने’ प्रलोभनमा निजी अस्पतालमा पुगे । ‘रु.२० हजार बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा ४१ हजार सकियो,’ उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्यो ।’

सरकारी अस्पतालको सेवा लिन आउने बिरामी दैनिकजसो दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन्छन् । बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले नै दलाल खटाएका छन् । दुर्गम गाउँबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा पुर्‍याउने कार्यमा युवाहरु संलग्न छन् ।

निजीमा राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाने उनीहरुको दैनिकी नै हुन्छ । जसका कारण विरामीलाई आर्थिक व्ययभार दुई गुणाबढी थपिन्छ । डाक्टरको कार्यकक्षमै गएर विरामीका आफन्तलाई तानेरै निजी क्लिनिक र अस्पतालसम्म पुर्‍याउनु भेरी अस्पतालभित्रको नयाँ दृष्य होइन । अस्पतालमा सक्रिय दलाल र विचौलियाको दैनिकी नै यसरी चलिरहन्छ ।

दलाल, डाक्टर र कर्मचारीबीच कमिशनमा सेटिङ् हुन्छ । जहाँ दलाललाई रोकतोक हुँदैन । ‘सिधै कार्यकक्षमा जान्छन् तानेर ल्याउँछन्, उनीहरुले भनेकै ठाउँमा औषधि किन्नुपर्छ,’ बिरामी कुरुवाहरुको गुनासो छ । जाजरकोटबाट उपचारमा आएका एक जना बिरामीका कुरुवा नरेन्द्र पुनले अस्पताल प्रशासनले नियन्त्रण गर्न नसक्दा विचौलियाको बिगबिगी बढेको बताए ।

फितलो व्यवस्थापनले अस्पतालका चिकित्सकदेखि कार्यालय सहयोगी र विचौलियासमेत सक्रिय छन् । भेरी अस्पतालमा दलाल तथा विचौलियाको दबदवा बढेसँगै उपचारका लागि आउने बिरामीले सास्ती भोग्दै आएका छन् । अस्पताल प्रशासनले भने यस विषयमा चासो नदेखाएको उपचारका लागि अस्पतालमा आएका बिरामी तथा कुरुवाहरु बताउँछन् ।

सरकारी अस्पतालमा आएका बिरामी दलालमार्फत निजी अस्पतालमा पुगेको बारे भेरी अस्पताल प्रशासन पूर्णरुपमा बेखबर भने छैन । नेपालगन्जमा आधा दर्जन ठूला निजी अस्पताल छन् । करिब १५० क्लिनिक छन्, ती क्लिनिकमा एकदेखि सात जनासम्म विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएका छन् ।

सरकारीमा राम्रो सेवा नपाइने, राम्रा चिकित्सक नहुने, उपचारमा समस्या भएर रोग झन् थपिने, ल्याब परीक्षण गर्ने आवश्यक चिकित्सक र उपकरण नहुने, रोगअनुसार औषधि नदिने, झन् बिरामी बढ्दै जानेलगायत समस्या हुने भन्दै डर देखाएर झुक्याउँदै निजी अस्पताल र क्लिनिक पुरÞ्याउने गरेको पीडितहरुको गुनासो छ ।

बिरामी कुरुवा पुनका अनुसार विचौलियाले काउण्टरबाट त होइन अस्पतालको गेट र फार्मेसी नजिकबाट दलाली गर्ने गरेका छन् । उनले भने, ‘अस्पतालका कर्मचारी तथा चिकित्सक यस बिषयमा चिन्तित छैनन् ।’ विचौलिया हाबी हुँदा विगतमा डाक्टरको काउण्टरदेखि वार्डमै गएर विरामीका आफन्तलाई निजी क्लिनीक तथा अस्पतालमा लैजान्छन् ।

सरकारी अस्पतालमा सामान्य उपचार गर्न आउने बिरामीलाई ‘मुर्गा’ बनाउन दलालको जालो फैलिएको छ । विगतमा भन्दा अहिले अस्पतालमा विचौलियाको सक्रियता बढेको गुनासो आएपछि निगरानी बढेको अस्पताल प्रशासनले बताएको छ । प्रशासनका अनुसार पछिल्लो समय एजेन्टका रुपमा काम गर्नेमाथि निगरानी बढेको छ ।

अस्पतालमा निगरानी बढे पनि विचौलियाको धन्दा भने नरोकिएको एक जना विरामीका आफन्त चन्द्र दाहालले बताए । विचौलिया तथा दलालको रोकथाम र नियन्त्रणका लागि अस्पताल प्रशासनले प्रभावकारीरुपमा कदम चाल्न नसकेको र चासोका साथ पहल नगरेको उनको गुनासो छ ।

उनले भने, ‘अस्पतालले प्रभावकारी पहल र गतिलो कदम चाल्न नसक्दा विचौलियाका कारण विरामी र कुरुवाले सास्ती भोगेका छन् ।’ दलालले सरकार अस्पतालमा राम्रा डाक्टर हुँदैनन्, उपचार सेवा पनि राम्रो छैन भन्ने लगायतका भ्रामक जानकारी दिँदै बिरामीलाई निजी अस्पताल र क्लिनिकतिर लैजाने गर्छन् ।

पीडित बिरामी र तिनका आफन्तको कानमा पुर्‍याउने र बिरामीलाई सरकार अस्पतालबाट निजी अस्पताल र क्लिनिकसम्म जान बाध्य बनाउने गिरोह अहिले पनि भेरी अस्पतालमा सक्रिय भइरहेको छ । तर अस्पताल प्रशासन भने दलाल र विचौलियाका सामु निरिह देखिएको बिरामीका आफन्तहरुको गुनासो छ ।

बिरामीलाई निजी अस्पताल र क्लिनिकतिर पुर्‍याए वापत राम्रै कमिशन पाउने भएपछि दलालको सक्रियता दिन प्रतिदिन बढ्दो छ । निजी अस्पतालले बिरामीको रोग हेरेर दलाललाई कमिसन दिने गरेका छन् । हाडजोर्नीका बिरामीको रु.३ हजार, प्रसुतिको रु.५ हजार, स्नायु सम्बन्धी बिरामीको रु.१० हजार, भिडियो एक्सरे, इण्डोस्कोपी आदी जाँच गर्न निजी अस्पताल र क्लिनिकसम्म पुर्‍याउँदा कमिशन दलालले पाउँदै आएका छन् ।

सरकारी अस्पताल व्यवस्थित रुपमा सञ्चालन हुँदा पुरा समय दिनुपर्ने र बिरामीको चाप बढ्ने भएपछि अधिकांश चिकित्सक र कर्मचारी अस्पतालमा अस्तव्यस्तता नै चाहन्छन् । निजी क्लिनिकमै व्यस्त रहने चिकित्सक र पैसा कमाउने ध्याउन्न बोकेका निजी अस्पताल वा क्लिनिकबीच अघोषित सहमति नै हुने गरेको छ ।

सोही सम्झौता बमोजिम दलालहरु सरकारी अस्पतालमा सक्रिय हुने गरेका छन् । दलालहरुकै कारण निजी अस्पतालको व्यापार निकै फष्टाएको छ । ‘अस्पतालमा नामभन्दा दाम कमाउन आउने डाक्टर र कर्मचारीले मनग्ये कुम्ल्याएपछि सरुवा भएर जान्छन्, अस्पतालको बेथिति जस्ताको तस्तै,’ सदस्यले भने, ‘अस्पताल सुधार्नुपर्छ भन्नेमा सिमित अस्पताल व्यवस्थापन समितिका तत्कालिन एक चिकित्सक र कर्मचारी मात्र छन् ।’

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०७:५३