सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति

आज ‘इद उल फित्र’, देशभरका मस्जिदमा हर्षोल्लास

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिन्छ ।

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वका लागि मुस्लिम समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन् ।

बिहान ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुस्लिम समुदाय ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन बेलुकी चन्द्रमा देखिएपछि भोलिपल्ट इद उल फित्र मनाइन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।

इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।

इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेर ‘इद उल फित्र’ आज मनाउने भएपछि आज सरकारले देशभर सार्वजनिक विदा दिइएको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०६:५२

लोकप्रिय