सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा सडकको रेलिङ काट्नेलाई कारबाही गर्ने

नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न स्थानको सडकका रेलिङ आफू खुसी काट्नेलाई कारबाही गर्ने भएको छ ।

नेपालगन्जको जमुनाहा–कोहलपुर सडक खण्डको सुर्खेतरोडको गणेशमान चोकदेखि कारकाँदो चोकसम्मका विभिन्न स्थानमा लगाइएका सडकका रेलिङलाई आफू खुसी काट्ने कार्य केही समययता आएर बढ्दै गएको छ ।

सडक सुरक्षा र दुर्घटना रोक्नका लागि बजार क्षेत्रमा सडकको दुबैतर्फ लगाइएका रेलिङ काटेर आफू खुसी बाटो निकाल्ने काम भइरहेकोले उपमहानगरले त्यस्तो गर्ने विरुद्ध एक्सन लिँदै कारबाही गर्ने जनाएको छ ।

नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुर्खेतरोडको बिपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ–आफ्नो पसल–व्यवसाय अगाडिको रेलिङ काटेका व्यवसायीलाई सात दिनभित्र पुनः निर्माण गर्न अल्टिमेटम दिएको छ ।

सात दिनको अल्टिमेटमको निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कारबाही गर्ने मेयर विष्टले चेतावनी दिनुभयो । उहाँले विभिन्न ठाउँमा रेलिङ काटिएको पाइएको जनाउँदै जसले काटेको भएपनि सात दिन भित्र पुनः जडान गर्नुपर्ने बताउनुभयो ।

सडकको दुबैतर्फ रेलिङ नलगाउने हो भने दुर्घटनाको अत्यधिक जोखिम रहेको र पैदल हिँड्ने नागरिकलाई समेत समस्या हुने भएकोले रेलिङ आवश्यक भएकोले कसैले पनि सडकका दुवै तर्फ लगाइएका रेलिङमा कुनै प्रकारको छेडछाड नगर्न उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ ।

उपमहानगरका कतिपय ठाउँमा व्यवसायीहरूले सडक पेटी कब्जा गरेर पसल व्यवसाय गर्ने गरेकोले पनि उनीहरूले पनि रेलिङ काट्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १९:३०

लोकप्रिय