सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी सरकारको प्रवक्तामा दीपेन्द्रकुमार पुन

लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दीपेन्द्रकुमार पुन मगरलाई दिइएको छ ।

विना विभागीय मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री पुनले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षमा बसेको पहिलो बैठकले पुनलाई जिम्मेवारी दिएको हो ।

प्रवक्ता पुन रोल्पा रोल्पा १ (२) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित सांसद हुनुहुन्छ । २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि माओवादीमै प्रवेश गर्नुभएको हो ।

पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहनु भएका अमरसिंह पुनलाई पराजित गर्नुभएको थियो । कांग्रेस–माओवादीसहितको गठबन्धनको अघिल्लो सरकारमा पुनलाई माओवादीले मन्त्रीको जिम्मेवारी दिन खोजे पनि नेपाली कांग्रेसका कारण उहाँ मन्त्री बन्न पाउनुभएको थिएन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बुटवलमा शपथ लिएर देउखुरी पुगी जिम्मेवारी सम्हालेपछिको पहिलो बैठकले पुनलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा प्रस्तावित १५ बेडको अस्पताललाई विशेषज्ञ चिकित्सकसहितको अस्पतालका रूपमा विकास गर्ने भएको छ ।

त्यसका लागि अर्थ मन्त्रालयले पूर्वसहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृत दिने निर्णय गरेको हो । सत्ता गठबन्धनबिच समझदारीमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीका पुन र जसपाका भण्डारीलाल अहिर विनाविभागीय मन्त्री बन्नुभएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १३:४३

लोकप्रिय