सूचनाको शक्ति - The Power Of Information

        

गरिब घरपरिवार गणना आजदेखि सुरु

काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ ।

बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता भट्टले काठमाडौं महानगरपालिकाले गरिब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने बताए ।

काठमाडौं महानगरमा खटिए २०९ गणक

काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् ।

काठमाडौं महानगरपालिकाका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।

सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ । उनीहरुले ट्याब्लेटमा विभिन्न विवरणहरु भर्दै तथ्यांक संकलन गर्नेछन् । त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई काठमाडौं महानगरपालिकाले तालिमसमेत दिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार १०:०५

लोकप्रिय