सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेको अङ्गुर अनुसन्धान केन्द्र अलपत्र

बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशमा रहेको अङ्गुर अनुसन्धान केन्द्र अहिले अलपत्र बनेको छ ।

३० वर्षअघि जापानको जाइका नामक संस्थाले उपहारस्वरूप तत्कालीन कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेलाई सो अङ्गुर अनुसन्धान केन्द्र दिएको थियो । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका अनुसार कुनैबेला यहाँ लटरम्म फल्ने अङ्गुर खान र हेर्न टाढाटाढाबाट आउनेको घुँइचो लाग्ने गरेको थियो तर अहिले अवस्था फेरिएको छ । न यहाँ पहिले जस्तो लटरम्म अङ्गुर फल्छन् न त हेर्नै कोही आउँछन् । देशमै अङ्गुर उत्पादनलाई प्रवर्धन गर्न सक्ने क्षमता रहेको अङ्गुर अनुसन्धान केन्द्र अलपत्र अवस्थामा रहेको छ ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका निर्देशक डा. समिद अहमदले अङ्गुर अनुसन्धान केन्द्रको अवस्थाका बारेमा केन्द्रीय नीति निर्मातालाई पटक पटक ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसलाई मज्जाले चलाउँ होइन भने बन्द गरिदिउँ तर यसरी दयनीय अवस्थामा नछाडौँ भनेर मैले पटक पटक भनेको छु ।” वाइन बनाउनका लागि यहाँ अङ्गुर खेतीको प्रशस्त सम्भावना छ । अहिले विदेशबाट करोडौँको वाइन भित्रिन्छ । त्यसलाई निरुत्साहित गर्न यही वाइन उत्पादन गर्ने गरी अङ्गुर खेतीलाई प्रवर्धन गर्न सकिन्छ । फराकिलो सोच, स्पष्ट इच्छाशक्ति र भिजन बनाउने हो भने यो अङ्गुर असुन्धान केन्द्रले पुनर्जीवन पाउँछ । त्यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । स्पष्ट योजना र बजेट नदिएका कारण अङ्गुर अनुसन्धान केन्द्रले पुनर्जीवन पाउन नसकेको जनाइएको छ । यहाँ रहेका कर्मचारीले सामान्य रेखदेख गरेर दिन बिताइरहेका छन् । हेरचाहको अभाव र धेरै पुराना भएका कारण अङ्गुरका बोटका डाँठ मात्रै देखिन्छन् भने बोटहरू घाँसले ढपक्कै ढाकेका छन् । जाइकाले दस वर्षसम्म सो केन्द्र सञ्चालन गरेका बेला एउटा अङ्गुरको रुखमा २५ देखि ३० किलोसम्म अङ्गुर फल्ने गरेको त्यतिबेलाको तथ्याङ्कबाट देखिन्छ । जाइकाले हस्तान्तरण गरेर गएपछि जनआन्दोलन र पछि सशस्त्र द्वन्द्वको समयबाटै सो केन्द्र अलपत्र पर्दै आएको हो । बर्सेनि करोडौँ मूल्यको वाइन र अङ्गुर विदेशमा निर्यात भइरहेका बेला स्वदेशमै अङ्गुर उत्पादनलाई प्रवर्धन गर्नुपर्ने निकाय आफैँ अलपत्र अवस्थामा पुगेको छ ।

२०४०/४२ सालमा जइकाले क्याहो र पर्लेट प्रजातिको अङ्गुरको व्यावसायिक खेती सुरु गरेको थियो । २०४५ मा अनुसन्धान केन्द्रलाई जाइकाले हस्तान्तरण गरेको थियो । त्यसपछि बजेट र योजनाको अभावमा अङ्गुर खेती प्रवर्धन गर्न नसक्दा बिरुवा मरेर खेती हराउँदै गएको छ । अङ्गुर आवश्यक हो भने सो केन्द्रलाई पुन सञ्चालन गरेर अङ्गुर खेती गर्नुपर्ने होइन भने बन्द गरेर अन्य कुनै कार्यक्रममा यो केन्द्रलाई समावेश गर्नुपर्ने सुझाव कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार ०७:४४

लोकप्रिय