सूचनाको शक्ति - The Power Of Information

        

कोहलीले बनाए यस आइपिएलको पहिलो शतक

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेल रोचक बन्यो। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)का विराट कोहलीको ११३ रनको शानदार शतकविरुद्ध राजस्थान रोयल्सका जोस बटलरले शतक नै प्रहार गरेपछि यो खेल रोचक बनेको हो।

कोहलीले यो सिजनकै पहिलो शतक प्रहार गरे। त्यसको जवाफ उही खेलमा राजस्थानका बटलरले दिँदै सिजनको दोस्रो शतक बनाए। ऐतिहासिक शतक प्रहार गरे पनि कोहली आरसिबीलाई जिताउन असफल भए।

बोटलरको शतकको मद्दतमाा राजस्थानले ५ बल बाँकी हुँदै ६ विकेटले जित निकालेको छ। यो जितसँगै राजस्थान चार खेलमा चार जित निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा चढेको छ। आरसिबीले भने पाँच खेलमा चार खेल गुमाउँदै २ अंक मात्र जोडेको छ।

शनिबार राति टस हारेर पहिला ब्याटिग गरेको आरसिबीले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको थियो। उसका लागि कोहलीले ६७ बलमा ११३ रनसहित शानदार शतक प्रहार गरे। कोहलीका लागि आईपिएलको आठौं र यो सिजनको पहिलो शतक हो।

आरसिबीका लागि कोहलीले अविजित ११३ रन बनाउँदा कप्तान फाफ डुप्लेसिसले ४४ रनमा आउट भए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले १ विकेट हात पारे।

१८४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बटलरले ५८ बलमा शानदार शतक प्रहार गरे। ९ चौका र ४ छक्का प्रहार गरेका बटलर नटआउट रहे। राजस्थाका लागि कप्तान सञ्जु सामसनले शानदार अर्धशतक प्रहार गरे। उनले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६९ रन बनाएका हुन्। शिमरोन हेटमायर नटआउट ११ रनमा समेटिए।

ओपनर यशस्वी जैसवाल शून्य रनमा आउट हुँदा रियान पराग ४ र ध्रुव जुरेल २ रनमा पेभिलिएन फर्किएका थिए। आरसिबीका लागि रिस टोपले दुई विकेट हात पारे भने यश दयाल र मोहम्मद सिराजले एकएक विकेट लिए।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतवार ०७:३१

लोकप्रिय