सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सञ्चालन हुँदै गुरुकुल विद्यालय

बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ ।

स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि यहाँ गुरुकुल भवनको निर्माण सुरु भएको स्थानीय अजय साहनीले बताए । करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको भवन बनाउने कार्यले सफलता पाएको छ,’ साहनीले भने ।

उनका अनुसार भवन निर्माणसँगै गुरुकुल सञ्चालनका लागि अन्य आवश्यक कार्यको पनि तयारी भइरहेको छ । अहिलेको अवस्थामा आफ्नो धर्म, संस्कृति र समाज जागरणका लागि वेदमा आधारित शिक्षा पद्धतिको महत्व बढ्दै गएकाले आफूहरू गुरुकुल सञ्चालनका लागि निरन्तर रूपमा लागिपरेको उहाँको भनाइ छ ।

गुरुकुल सञ्चालनका लागि स्थानीय युवा लाग्नु सकारात्मक कुरा भएको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गजेन्द्रबहादुर हमालले बताए । उनले गुरुकुल सञ्चालनका लागि आफूले आवश्यक सहयोग र समन्वय गर्दै आएको बताए ।

गुरुकुल भवन निर्माणका लागि लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठको पहलमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको छ । भवनका लागि आवश्यक जग्गा खरिद गरेर भवन निर्माणको कार्य ठेक्कामार्फत सञ्चालन भएको छ । नेपालगञ्जका एक दाताले जग्गा खरिदका लागि आवश्यक रकम सहयोग गरेपछि भवन निर्माण प्रक्रियाले सफलता पाएको हो ।

भवन निर्माणका लागि प्रदेश सरकारले रु ३० लाख बजेट उपलब्ध गराएको जिल्ला समन्वय समितिका निवर्तमान सदस्य चेतबहादुर घर्तीले जानकारी दिए । गुरुकुल शिक्षा एकदमै जरुरी छ, समुदायमा धार्मिक ज्ञान कम भएकाले आपसमा मतभेद छ,’ घर्तीले भने ।

उनका अनुसार यस्तो गुरुकुलले अध्ययन गर्ने व्यक्तिमा धार्मिक ज्ञान प्रदान गर्छ र व्यक्ति आफ्नो धर्मको बारेमा जानकार बन्छ । अहिले मानव मानवबीच व्यवहारिकता र धर्मबारे ज्ञानको कमी भएकाले धार्मिक शिक्षाको आवश्यकता रहेको सदस्य घर्तीको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०८:५९

लोकप्रिय