सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा पनि पठाओको सेवा

 राइड सेयरिङ कम्पनी ‘पठाओ’ ले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यातले मुलुकभर सेवा विस्तार गर्ने नीति अनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो ।

बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहर विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुने छ । मधेश प्रदेशको वीरगन्ज र जनकपुरमा पनि सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

त्यसै गरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगन्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार हुन लागेको हो ।

भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ । “नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागेका छौँ,” बस्न्यातले भन्नुभयो ।

उहाँका अनुसार सेवा विस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ । बस्न्यातले भन्नुभयो, “राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सक्नुहुने छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०८:५७

लोकप्रिय