सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत २२ गते बिहीवारको राशिफल

२०८० चैत २२ गते बिहीवार, ४ अप्रिल २०२४ । चैत्र कृष्णपक्ष दशमी तिथि, १२ः०५ बजेपछि एकादशी । श्रवण नक्षत्र, १६ः३५ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला । अरूका काममा समय बित्न सक्छ । तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ । आस मारेको कामले उत्साह जगाउनेछ । प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । मेहनत गर्दा केही प्रतिफल पाइनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ । जोखिम हुने काम थालनी गर्नुअघि विचार पुर्याउनुहोला । चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन्, सजग रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ । रमाइलो तथा व्यावसायिक यात्रा हुन सक्छ । अतिथिका रूपमा सत्कार समेत पाइएला । मनपर्ने भौतिक साधन जोड्ने समय छ । आयवर्द्धक काम प्रारम्भ गर्न सकिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग जुट्नाले काममा हौसला मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन् । बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायमा अलमल हुन सक्छ । ईर्ष्या गर्नेहरूले बाधा पुर्याउनेछन् भने सहयोगी जुटाउन निकै प्रयत्न गर्नुपर्ला । सन्तान र सहयोगीका माध्यमबाट काम बन्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । अरूको फाइदामा उपयोग भइने सम्भावना छ । बेसुरमा गरिएको कामले समस्या निम्त्याउला । पारिवारिक असमझदारीले महत्त्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्नेछ । तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । आफन्तको सहयोगले काम बन्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मान–सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनतले विशेष अवसर दिलाउनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ । कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ । अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । तर आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । सोखले खर्च बढाउनेछ । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेत गर्दा रोकिएको काम बन्न सक्छ । इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्च बढ्नेछ । लगानी परे पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०७:०१