बाँकेको भारतसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आजदेखि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा पैदल गस्ती सुरु गरेको छ । नेपाल-भारत सीमा दशगजामा क्षेत्रमा रहेको ६ सय ५१ नम्बर जङ्गेपिलरबाट सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणले सशस्त्र प्रहरी निरीक्षक जालन्दर कसीको नेतृत्वमा एक प्लाटुन टोली चौबिसै घण्टा सीमा गस्तीमा तैनाथ रहने गरी सीमा पैदल गस्ती सुरु गरेको हो ।
गस्ती शुभारम्भ समारोहमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सीमाको अवस्था बुझ्न र दुवै देशका सुरक्षाकर्मीबिच सहकार्यको विश्वास बढाउन पैदल गस्ती सहयोगी हुने बताउनुभयो । “पैदल गस्तीले सीमावासी जनताका समस्या र सीमा सुरक्षामा रहेका समस्या बुझेर नीति निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ”, सशस्त्र प्रहरी नायब महानिरीक्षक खत्रीले भन्नुभयो, “सीमावासी जनतासँग अन्तरक्रिया गर्दै पैदल गस्तीमा सशस्त्र प्रहरी फौजले सीमा क्षेत्रमा दिनरात पसिना बगाउने छ ।”
सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले सीमा पैदल गस्ती परिचालन गरिएको खत्रीले बताउनुभयो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सीमा पैदल गस्तीले सशस्त्र प्रहरीलाई नागरिकमैत्री बन्न र दुवैतर्फका सीमाक्षेत्रका नागरिकले सुरक्षाको अनुभूति गर्न सक्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले अहिले आफ्नो मातहतको सीमा क्षेत्रमा सीमा पैदल गस्ती सुरु गरिएको बताउनुभयो । यो गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो । सीमा गस्तीअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेससमेतको जनशक्ति समावेश गरेर सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालित हुने उहाँको भनाइ छ ।
भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर खुला सीमा छ । त्यसको हरेक तीन-तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छ । नेपालतर्फ भने सशस्त्र प्रहरीको उपस्थिति न्यून छ । सीमा पैदल गस्तीले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने सशस्त्र प्रहरी उपरीक्षक डाँगीको विश्वास छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके