सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘महाजात्रा’ को अहिलेसम्मको कमाइ कति?

चैत ९ गतेदेखि प्रदर्शनमा आएको प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म ‘महाजात्रा’ ले हलमा दर्शकको साथ पाइरहेको छ। दोस्रो सातामा पनि फिल्म हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ।

फिल्मले कमाइ पनि राम्रो गरिरहेको छ। नेपालसँगै विदेशमा समेत फिल्मले उत्तिकै उत्साहजनक व्यापार गरिरहेको निर्माता म्याक्स दिपेश खत्रीले बताए।

उनका अनुसार फिल्मले १० दिनमा विश्वव्यापी बजारबाट १३ करोड रूपैयाँ बढी ग्रस कमाएको छ। जसमध्ये नेपालको हिस्सा ८ करोड ८ लाख र डायस्पोरामा ५ करोड नेपाली रूपैयाँ रहेको छ।

अस्ट्रेलिया, अमेरिका, मध्यपूर्व, जापान लगायतका मुलुकमा कमाइ बढेसँगै शो सङ्ख्यामा पनि वृद्धि भएको निर्माता खत्रीले बताए। ‘यसले अहिले हामीलाई लाभ दिएता पनि नेपाली फिल्मको बजार विस्तारका साथै बजार बलियो बनाउन उल्लेख्य मद्धत पुगेको छ’ उनले भने। आफूहरूले साउदी अरेवियामा पहिलोपटक फिल्म रिलिज गर्न लागेको उनले बताए।

‘महाजात्रा’ मा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रबिन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

फिल्मलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्। अभिनेता रहेका रबिन्द्रसिंह बानियाँ फिल्मको कार्यकारी निर्माता समेत हुन्।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १२:५२