सूचनाको शक्ति - The Power Of Information

        

केकीकाे ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक

वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बोक्सीको घर’को गीत सार्वजनिक गरिएको छ ।

कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको हो ।

गीतमा समीक्षा अधिकारी र प्रकाश सपूतको स्वर रहेको छ । गीतमा गायक सपूतकै शब्द रचना तथा संगीत छ ।

सिनेमाको गीतमा केकी अधिकारी, निर्देशक तथा कलाकार सुलक्षण भारती,  रमा थपलियालगायत कलाकार फिचर्ड छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ ।

अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ ।

सिनेमामा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०८:३२