२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday
आन्तरिक पर्यटन

आन्तरिक पर्यटकको आकर्षण बन्दै रानीतलाउका माछा

पर्यटकको मन लोभ्याउने मात्र नभएर माछाहरुले राम्रो आम्दानी पनि दिएको छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८० चैत २१ गते बुधबार
माछालाई चारो हालिदिएर रमाउँदै रानीतलाउ घुम्न आएका आन्तरिक पर्यटक ।

नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।

रानीतलाउमा घुम्न आएका आन्तरिक पर्यटकहरु तलाउमा पालिएका माछालाई चारो हालिदिने तथा माछा हेरेर रमाउने गरेका छन् । रानीतलाउमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटकहरु माछालाई दाना तथा चारो हालेर माछा हेर्दै रमाउने गरेको रानीतलाउ सञ्चालक कम्पनीका कर्मचारी दिपक खनाल बताउँछन् ।

कर्मचारी खनालले अन्य दिनभन्दा सार्वजनिक विदाका दिनमा आन्तरिक पर्यटकहरु तलाउमा घुम्न आउने गरेको बताए । ‘अरु दिनमा भन्दा रानीतलाउमा सार्वजनिक विदाका दिनमा धेरै पर्यटकहरु आउनुहुन्छ, यहाँ आउनुभएकामध्ये धेरैजसोले माछालाई चारो हालिदिएर माछा हेर्दै तस्वीर खिचाएर रमाउनुहुन्छ,’ उनले भने ।

रानीतलाउमा बोटिङ्गको पनि व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकहरुले बोटिङ्ग गर्ने, माछालाई चारो हालिदिएर माछासँग रमाउने गरेर समय बिताउने गरेका छन् । अन्दाजी आठ फिट गहिराई रहेको रानीतलाउ प्रवेश गर्न १० रुपैयाँ र बोटिङ्गमा चढेर तलाउ एक फन्को लगाउनका लागि २५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

सञ्चालक कम्पनीका कर्मचारी खनालले अन्दाजी चार कट्ठामा फैलिएको रानीतलाउमा यसवर्ष ६ हजार माछाका भुरा हालिएको बताए । कामन, नैनी, भाकुर तथा ग्रास लगायत प्रजातीका माछाहरु तलाउमा हालिएको छ । पर्यटकको मन लोभ्याउने मात्र नभएर माछाहरुले राम्रो आम्दानी पनि दिएको छ ।

‘यसवर्ष करिब ६ हजार माछाका भुरा हालेका छौं, एक डेढ किलोको भएपछि बिक्री गर्न सुरु गर्छौ, माछाको बजार राम्रो छ, बिक्री गर्ने साइजको हुने बित्तिकै ग्राहकहरु यहिँ आउनुहुन्छ,’ खनालले भने, ‘एक डेढ वर्षको समयमा दुई पटक माछा निकाल्छौं, बिहान बेलुका गरेर दिनमा दुई पटक माछालाई दाना हालिदिन्छौं, बन्दा गोपीका पात काटेर पारेको टुक्रा र करिब १० किलो दाना दैनिक खुवाउँछौं ।’

अन्य जिल्लाबाट नेपालगन्ज काम विशेषले आउने तथा भारतबाट यहाँ आएका पर्यटकहरु र नेपालगन्जका रैथाने आन्तरिक पर्यटकहरु रानीतलाउमा घुम्न आउने गरेका छन् । रानीतलाउ घुम्ने, माछालाई चारो हालिदिने, तस्वीर खिचेर रमाउनुका साथै पर्यटकहरुले माछासमेत किनेर लैजाने गरेका छन् ।

रानीतलाउमा प्रायः साँझको समयमा घुम्न आउनेको सङ्ख्या अत्यधिक हुन्छ । पारिवारिक सदस्यहरु, बालबालिकाहरु तथा प्रेमी प्रेमीकाको जोडीले समय बिताउनका लागि रानीतलाउ रोज्ने गरेका छन् । रानीतलाउको वरिपरी उद्यान, रमणीय बगैंचा, बालबालिकाका लागि पिङ, चिप्लेटी तथा चमेनागृहको समेत व्यवस्था रहेको छ ।

ठेकेदार कम्पनी शुभ एण्ड एन.एस. कम्पनी काठमाडौंका प्रतिनिधि निर्मल थापाले नेपालगन्ज उपमहानगरपालिकासँग २०७८ असोज ५ गते १० वर्षका लागि ठेक्का सम्झौता गरी रानीतलाउ सञ्चालन गर्ने स्वीकृति लिएको बताए ।

थापाका अनुसार रानीतलाउ सञ्चालनका लागि सो कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख ५० हजार रुपैयाँ तिर्ने गरि ठेक्का सम्झौता गरेको छ । १० वर्षसम्म ठेक्का सञ्चालनका लागि अनुमति पाएको कम्पनीले हरेक दुई वर्षमा १० प्रतिशतका दरले सम्झौता रकममा वृद्धि हुने गरि सम्झौता गरिएको थापाले बताए ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : २०८० चैत २१ गते बुधबार