सूचनाको शक्ति - The Power Of Information

        

विचार

वास्तु र व्यवहार

हरेक मानिसको जीवनमा भाग्य, कर्म र वास्तुको बराबर प्रभाव हुन्छ । मानिसले आफूले गर्ने कर्मको प्रतिफल कर्मअनुसार नै पाइरहेको हुन्छ । यदि कर्ममा शुद्धता छ र शुभकर्म छ भने त्यसको परिणाम पनि शुभ नै हुन्छ ।

के हो वास्तु ?

वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार एउटा अति विशाल मानव आकृतिको उत्पत्ति भयो । जसले संसारलाई ढाक्यो । यसबाट आत्तिएका देवताहरु ब्रम्हाजीसँग समस्या समाधान गर्न अनुरोध गरे । ब्रम्हाजीले त्यो विशाल पुरुषाकृतिलाई उँधो मुख गरी थिच्न लगाए । आफूलाई देवताहरुले थिचेपछि आत्तिएको त्यो विशाल आकृतिले ब्रम्हाजीसँग आफू अन्यायमा परेको गुनासो गरेपछि ‘वास्तुपुरुष’ भनी वरदान दिएको विश्वकर्मा प्रकाश नाम ग्रन्थमा उल्लेख छ ।

वास्तु पुरुषलाई कुनै भवन, मन्दिर, गाऊँ, सहर, जलाशय लगायतका निर्माण गर्दा पूजा गर्नुपर्ने र वास्तुको शरीरका अङ्गहरुलाई नकारात्मक असर नपर्ने गरी निर्माण गरिनु विधि वा वरदान प्राप्त भयो । यदि वास्तुपुरुष अर्थात् वास्तुविपरीत निर्माण भए गरेमा त्यहाँ बस्नेहरुमा खुशी नमिल्ने व्यवस्था गरियो । आज पनि उँधो मुख अर्थात् घोप्टो परेको आकृतिलाई ‘वास्तुपुरुष’ भनी मान्दै आएको पाइन्छ ।

गृह निर्माण गर्दा शिलान्यास, नवगृह प्रवेश, जीर्ण गृहप्रवेश, लामो यात्रा पर्यन्त गृहप्रवेश, मूलद्वार स्थापना, व्रतवन्ध, विवाहआदि काम गर्दा वास्तुपूजन अनिवार्य मानिन्छ । बनिसकेको घरमा पनि विभिन्न समस्याहरु आउन थाले भने वास्तुपूजन वा वास्तु शान्ति गराउनुपर्छ । पौराणिक ग्रन्थका अनुसार घरमा चट्याङ परेको अवस्थामा, पटकपटक सर्पहरुले दुःख दिन थालेमा, कौवा, लाटोकोसेरो, परेवाआदिले बास गर्न थालेमा वास्तुदोष भएको मानिन्छ । घरमा अरिङ्गाल, बारुलो, मौरीआदिले बास गर्न थाले, बिरालो, स्यालआदि निरन्तर आवाज दिन थाले, पाल्तु जनावरहरु अनाहकमा रातमा कराउने गरेका छन् र घरमा अनाहकमा कहल हुन थालेको छ भने त्यस्तो घरमा वास्तुदोष छ भनेर बुझ्न सकिन्छ ।

यदि यस्तो अवस्था छ भने तत्काल वास्तु शान्ति गराउनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । हरेक मानिसको जीवनमा भाग्य, कर्म र वास्तुको बराबर प्रभाव हुन्छ । मानिसले आफूले गर्ने कर्मको प्रतिफल कर्मअनुसार नै पाइरहेको हुन्छ । यदि कर्ममा शुद्धता छ र शुभकर्म छ भने त्यसको परिणाम पनि शुभ नै हुन्छ । यद्यपि धेरै मानिसले सकारात्मक कर्म गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न सकिरहेको हुँदैन । यदि मानिसको कर्म राम्रो छ र पनि परिणाम नकारात्मक छ भने त्यहाँ उसको भाग्य र वास्तुले साथ दिइरहेको छैन भन्ने बुझिन्छ । मानिस भाग्यले पनि पूर्ण छ, कर्ममा पनि राम्रो छ तर पनि परिणाम भनेजस्तो छैन भने वास्तुदोषले समस्या दिइरहेको हुन्छ ।

यी तिनै पक्षलाई विचार गरेर हेर्दा मानिसले भाग्यलाई बदल्न सक्दैन । परारब्ध अर्थात् उसको पूर्वजन्मको सञ्चित कर्मको परिणाम भोग्नैपर्छ । वास्तुशास्त्र र यस क्षेत्रका विद्वानहरु भाग्यलाई विधिको विधान भन्छन् तर कर्म र वास्तुलाई सकारात्मक बनाउन सकिन्छ भन्ने निष्कर्ष निकाल्छन् । त्यसैले भाग्यको मात्र भर परेर जीवनमा सकारात्मकता ल्याउन सकिन्न । कर्मलाई सकारात्मक बनाउने र वास्तुशास्त्रीय मान्यतालाई प्रयोगमा ल्याउने हो भने जीवनमा सकारात्मकता ल्याउन सकिन्छ ।

कसरी सकारात्मक हुन्छ वास्तु ?

सामान्यतया बजारमा वास्तुको विषयमा निकै चर्चा सुनिन्छ तर वास्तुको विषयमा चासो राखेजस्तो लागे पनि मानिस आफैले वास्तु बिगारिरहेका हुन्छन् । थाहा नभएर वास्तु बिग्रनु सामान्य हो तर कतिपय अवस्थामा मानिसले थाहा पाएर पनि वास्तु विपरीत काम गरिरहेका हुन्छन् । दैनिक जीवनमा प्रयोग गरिने अनेकन सामानहरुले वास्तुमा प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । आफूले प्रयोग गर्ने गरेका सामानहरुको सही स्थान र उपयोगमा ध्यान नदिँदा घरको वास्तु नकारात्मक बन्दै गएको हुन्छ । वास् अर्थात् निवासको सकारात्मक ऊर्जा बढाउँदै नकारात्मक ऊर्जा कम गराउने वैदिक पद्धति नै वास्तु हो ।

वस्तुको स्थान, आकार, रङआदिबाट प्रभावित हुन्छ । आधुनिक जीवनमा यसको व्यवस्थापन जटिल तर अनिवार्य बन्दै आएको छ । सानो ठाउँमा अधिक वस्तुहरुको व्यवस्थापन गर्नुपर्ने बाध्यता हुँदा हामीहरुले वास्तु व्यवस्थापन गर्न सकिरहेका हुँदैनौ । बढ्दो सहरीकरण, बहुतले भवन, औद्योगिकरण, जमिनको कमीलगायतका कारण वास्तु व्यवस्थापन जटिल बन्दै आएको छ । यीनै जटिलताका कारण वास्तु व्यवस्थापन छाँयामा पर्ने गरेको छ । जसले गर्दा निवासमा नकारात्मक ऊर्जा बढ्दै गएको हुन्छ । त्यसैले नकारात्मक ऊर्जा कम गर्न वास्तु व्यवस्थापन झन् जरुरी बनेको छ ।

घर या कार्यालयको ऊर्जा सकारात्मक भएन भने त्यहाँ बस्ने या काम गर्ने मानिसको भावमा सकारात्मकता आउँदैन । नकारात्मक ऊर्जा र मनस्थितिका बीच गरिएका कार्यहरु सफल हुँदैनन् । मानिसमा झन्झन् चिन्ता र नैराश्यता उत्पन्न हुन्छ । त्यसैले विविध जटिलता हुँदाहुँदै पनि सम्भव भएसम्म वास्तुका मूल मान्यतालाई बिर्सन या बेवास्ता गर्नुहुँदैन । निवास वा कार्यालयको निर्माण र आन्तरिक साजसज्जामा ध्यान दिने हो भने अधिक वास्तु सकारात्मक बन्छ । अवस्था र व्यवस्था हेरेर पूर्ण व्यवस्थापन गर्न नसकिए पनि मूल कुरामा भने ध्यान दिनैपर्छ । हामी सबैले वास्तु व्यवस्थापन गर्दा केही आधारभूत कुराहरु थाहा पाउनै पर्ने हुन्छ ।

छोटो आलेखमा समग्र वास्तुको चर्चा सहज छैन । यद्यपि हरेक मानिसले आफै प्रयास गर्दा वास्तु सकारात्मक हुने अवस्थाहरुको चर्चा औचित्यपूर्ण हुनसक्छ । त्यसका लागि हामीले आफ्नो निवासलाई विशेष ध्यान दिनुपर्छ । बास अर्थात् निवास सकेसम्म सफा र स्वच्छ हुनुपर्छ । घरको सरसफाईसँगै वस्तुहरुको उचित व्यवस्थापन हुनुपर्छ । घरमा अनावश्यक सामग्री राख्नुहुँदैन । अनावश्यक र प्रयोगमा नआउने सामानहरु ‘पछि चाहिएला’ भनेर सञ्चय गरिराख्नु वास्तुका हिसाबले नकारात्मक मानिन्छ । कतिपय मानिसहरु आफ्नो घरमा पुराना सामानको भण्डार नै गरेका हुन्छन् । फुटेका ऐना, बिग्रिएका घडी, मेसिनका पार्टपुर्जा, नचल्ने मोबाइल, रेडियो, बल्वहरु सञ्चय गरेर राख्ने गरेको पाइन्छ ।

यी वास्तुको नकारात्मक ऊर्जाका स्रोत हुन । यसलाई सकेसम्म छिटो घरबाट हटाइहाल्नुपर्छ । बिग्रिएका सामानले घरको ऊर्जा बिगार्छ । राम्रा र आकर्षक वस्तुले सकारात्मक उर्जा उत्पन्न गर्छ । वैदिक वास्तुमा आठ दिशा र दश दिक्पालको विशेष ख्याल राखेर वास्तु व्यवस्थापन गरिन्छ । जमिनको प्रत्येक टुक्रामा वास्तुपुरुषको निवास हुने हुनाले निर्माण वा व्यवस्थापनमा त्यसलाई ध्यानमा राख्नुपर्छ । पानीजन्य वा जलीय पदार्थ इशान क्षेत्रमा उपयुक्त हुन्छ । पानीको धारो, स्नान गर्ने स्थान, भूमिगत जल सञ्चय यसै क्षेत्रमा राख्नुपर्छ । इशान वास्तु पुरुषको शीर भएकाले यस क्षेत्रमा जलीय पदार्थ सकारात्मक ऊर्जाको स्रोत बन्छ । यसले निवासमा सकारात्मकता सिर्जनामात्र गर्दैन त्यहाँ निवास गर्ने व्यक्तिको जीवनमा पनि सकारात्मकता ल्याउँछ ।

निवास या कार्यालयको मुख्यद्वार सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले कुनै पनि निर्माण गर्दा मुख्य प्रवेशलाई विशेष ध्यान दिनुपर्छ । स्थान, अवस्था र दिशा हेरेर मुख्यद्वार निर्माण गर्दा सकारात्मक ऊर्जा भएको स्थान चयन गरिनुपर्छ । मुख्यद्वार घरका अन्य द्वारभन्दा ठूलो र आकर्षक बनाउनुपर्छ । जहाँबाट प्रकाश घरभित्र अधिकतम स्थानमा पुगोस् । निर्माण भइसकेको घर वा निवासको मुख्य ढोका अगाडि फोहोर हुनुहुँदैन । अनावश्यक खाल्डो, ठूला–ठूला रुख, विजुलीको खम्बा तथा अन्य कुनै पनि सामग्रीको थुप्रो कदापि हुनुहुँदैन । आफ्नो घरको मुख्य ढोकाको सामुन्ने अर्कोको घरको मुख्य ढोका छ भने यसले वास्तुदोष उत्पन्न गर्छ ।

मुख्य प्रवेशमा कतैबाट छाँया नपरोस् भन्ने कुरामा सचेत हुनुपर्छ । स्वच्छ, सफा मुख्य प्रवेश नजिकै शुभस्थान हेरेर तुलसीको मठ निर्माण गरिनुपर्छ । मुख्य प्रवेश र भान्सा सिधा लाइनमा हुनुहुँदैन । बाहिरबाट प्रवेश गर्दा भान्सा सकेसम्म नदेखियोस् भन्ने कुरामा ख्याल राख्नुपर्छ । अचेल अधिकांश घरहरुमा भान्सा र शौचालय नजिक नजिक राख्ने गरेको पाइन्छ । यसो गर्नुहुँदैन । पूजा कोठा, भान्सा र शौचालय नजिक बनाउदा वास्तुदोष उत्पन्न गर्छ । तसर्थ पूजास्थान घरको इशान क्षेत्रमा, भान्सा कोठा आग्नेय क्षेत्रमा र शौचालय पश्चिम या दक्षिण क्षेत्रमा व्यवस्थापन गर्नुपर्छ ।

शौचायलमा शौच गर्दा उत्तर या पूर्वाभिमुख हुने गरी मिलाउनुपर्छ । ‘सफ्टिक ट्याङ्क’लाई सकेसम्म वायव्य क्षेत्रमा बनाउनुपर्छ । हरेक मानिसले पहिलो चरणमा आफ्नो घरको सरसफाई, मुख्यद्वार, पाकशाला, पूजास्थल र शौचालयको सही व्यवस्थापन गर्दा अधिकतम वास्तुदोष कम हुन्छ । घरमा भएका पशुपंक्षी र किटपतङ्गहरुको अवस्था हेरेर वास्तुको अवस्था सुधार गर्ने प्रयत्न गर्दा शुभफल प्राप्त गर्न सहज हुन्छ । हरेक शुभकार्यमा वास्तुपूजन या वास्तु शान्ति गराउने र वर्षभरीमा कुनै पनि शुभकार्य गरिएको छैन भने वर्षमा एकपटक वास्तु शान्ति गराउने बानी बसाल्नु रामो मानिन्छ ।

स्रोत : रासस
प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ११:५६