सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा एसपी बढुवा विवादमा, प्रचण्ड र ओलीका पीएसओको वर्चस्व

नेपाल प्रहरीले आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरेको बढुवा सिफारिस विवादमा परेको छ । बुधबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले आठ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तर, एक नम्बरकै डिएसपी नै बढुवा सिफारिसमा नपरेपछि विवाद सुरु भएको छ ।

एक नम्बरको डिएसपी बढुवा सिफारिस नभई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा परेपछि आलोचना हुन थालेको छ । बढुवा सिफारिस सूची प्राथमिकता क्रम मिचेर निकालिएको भन्दै आलोचना भएको हो ।

एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री थिए । तर, उनी बढुवा सिफारिसमा परेका छैनन् । ६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सुचीमा परेनन् । मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ ।

अहिले एसपीमा सिफारिस भएका आठ जना डिएसपी २०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा भएका थिए । उनीहरू २०६१ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । डिएसपीहरू सन्तोष तामाङ र राजन लिम्बू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ भइसकेका थिए ।

ओली २०७२ मा प्रधानमन्त्री हुँदा तामाङ उनका पिएसओ भएका थिए । यस्तै २०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू उनका पिएसओ थिए । साथै २०७८ मा विनोद घिमिरे प्रचण्डको पिएसओ भएका थिए । पहिलो नम्बरकै डीएसपी बढुवा सिफारिसमा नपरेपछि रवि लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा निस्किएको पहिलो बढुवा विवादमा परेको छ ।

गृह मन्त्रालयको पदभार सम्हालेपछि प्रहरी मुख्यालयको निरीक्षणमा जाँदा सरुवा बढुवामा नेताका घर धाउनु नपर्ने गरी सुधार गर्छु भनेर भाषण गरेका गृहमन्त्री लामिछानेको बोली र व्यवहारमा फरक देखिएको छ । मेरिट कायम राखेर बढुवा गर्ने वा शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्नेबारे मतभेद हुँदा लामो समयदेखि बढुवा रोकिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०८:०३

लोकप्रिय