सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा अव्यवस्थित केबुल तार हटाउन सुरु

कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थित रूपमा रहेका केबुल तारहरू हटाउन सुरु गरिएको छ । नगरका विभिन्न स्थानमा तारहरू झुल्लिएका र लत्रिएका रहेको र पोलहरूमा रहेका तारहरू पनि अव्यवस्थित रूपमा गुजुल्टिएकाले हटाउन सुरु गरिएको हो ।

कोहलपुर नगरपालिकाका प्रहरी प्रमुख वीर बहादुर थापाले कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडी क्षेत्रबाट केबुल तार व्यवस्थापन अभियान सोमबारबाट सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले केबलका अव्यवस्थित तारहरूले गर्दा सहरको शोभा समेत कुरूप देखिएको र दुर्घटनाको जोखिम समेत रहेकोले हटाउन सुरु गरिएको बताउनुभयो । नगर प्रहरी प्रमुख थापाले थप्नुभयो, ‘‘विभिन्न केबुल प्रदायक संस्थाहरूबाट जडान गरिएका केबुल तारहरू कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको छ, जसका कारण आगलागीसँगै सवारी साधन दुर्घटनाको जोखिम समेत हुने गरेको छ । यसले कोहलपुरका शोभा समेत कुरूप बनाएकोले व्यवस्थापन गर्न थालिएको हो ।’’

नगरपालिकाले गत वर्ष पनि अव्यवस्थित रूपमा रहेका केबुल तारहरू हटाएको थियो । गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्री सहरका तारहरू हटाउन लागिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।

नगरपालिकामा केबुल तार व्यवस्थापन समिति मापदण्ड नै छ । जसअनुसार विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तारभन्दा दुई फिट मुनि र साढे तीन फिटबिच भागमा मात्र तार जडान गरी लाइने तान्नु पर्छ ।

फाइवर नेटवर्क सञ्जालले आआफ्नो फाइवर केबुलको डिवि बक्स रहेको पोलमा ट्याकिङ चिह्न लगाउनु पर्छ । पोलमा रहेको तार गुच्छासम्बन्धी संस्थाले सकेसम्म सानो बनाइ व्यवस्थित गरिनु पर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनु पर्छ, पोलमा रहेका पुरानो कामविहीन तारहरू सम्बन्धित संस्थाले हटाउनु पर्ने मापदण्ड छ ।

केबुल तार व्यवस्थापनका लागि गएको चैत १४ गते सम्बद्ध सरोकारवालाहरूको बैठकले तार व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबुल नेटवर्क, जनप्रतिनिधिसहितको बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तारहरू व्यवस्थापन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १७:५०