सूचनाको शक्ति - The Power Of Information

        

विचार

रविमा वैकल्पिक शक्तिको महाभ्रम

आफूमाथि अनुसन्धानका क्रममा रहेको सहकारी ठगी प्रकरण र अदालतमा विचाराधीन रहेको दोहोरो राहदानी प्रकरणको किनारा नलाग्दै झन्डा हल्लाउने खेलमा डुबेका रविहरूको राजनीति जनताले बुझिसकेको अवस्था छ ।

जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेस विद्रोहले उठाएका मुद्दाहरू सम्बोधन गर्ने नाममा व्यतीत भएको २०६० को दशकको अन्तिमतिर वैकल्पिक राजनीतिक शक्ति निर्माणको नाममा कम्युनिष्टहरू पुनः विभाजन भएका थिए । माओवादीका शीर्ष नेता मोहन वैद्यले अलग पार्टी स्थापना गरे । वैद्यबाट विप्लवले पार्टी फुटाएर नेकपा बनाए । वैद्य नेतृत्व रहेको पार्टीको अस्तित्व दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्थामा छ ।

यता, विप्लवले एकीकृत जनक्रान्तिका नाममा स्थापना गरेको नेकपा हाल सुरक्षित अवतरणको खोजीमा छ । समाजवादी मोर्चाको नाममा विप्लव यतिबेला मर्जरको उपयुक्त पर्खाइमा देखिन्छन् । त्यस्तै २०७२ साल असोजमा संविधान जारी भएलगत्तै नयाँ शक्तिको नाममा डा. बाबुराम भट्टराईले पार्टी स्थापना गरे । उक्त पार्टीको आयु धेरै लामो रहेन । मधेसका मसिहा भनेर चिनिने उपेन्द्र यादवको पार्टीसँग एकता गरेर बाबुरामले नयाँ शक्तिको अस्तित्व नामेट गरे ।

पुनः उपेन्द्रसँग सम्बन्धविच्छेद गरेर नेपाल समाजवादी पार्टी स्थापना गरे । आज बाबुरामको उक्त पार्टी फेरि विभाजित बनेको छ । बाबुरामलाई दोबाटोमा छोडेर महेन्द्रराय यादव समूहले माओवादीसँग एकता गर्ने निर्णय गरेको छ । यसरी पार्टी बन्ने र भत्किने क्रम चलिरहेकै बेला पूर्वसञ्चारकर्मी रवि लामिछानेले एक वर्ष पहिले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए । हाल रविको पार्टी सत्तामा छ ।

रास्वपाका नेताहरूले आफ्नो पार्टीलाई वैकल्पिक राजनीति शक्ति भनिरहेका छन् । जसले जे भनेपनि नेपालमा वैकल्पिक शक्तिको उदय हुने कुरा एकाध वर्षसम्म सम्भव देखिँदैन । यदि, कसैले त्यस्तै भन्दैछ भने त्यो भ्रम मात्र होइन, त्यो महाभ्रम हो । बाबुरामजस्ता हस्तीहरूले त नयाँ शक्तिको अस्तित्व जोगाउन नसकेको नेपालमा रविजस्ता बिचारविहीन अल्लारेहरूले नेतृत्व गरिरहेको रास्वपालाई वैकल्पिक शक्ति ठान्नु भ्रम हो ।

सत्ताको भक्ति

आफूलाई वैकल्पिक शक्ति भन्नेहरू सत्ताको भोका देखिएका छन् । ३२ सिटे माओवादी नेतृत्वमा २१ सिटे पार्टी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी छ । हिजो प्रतिपक्षमा बसेको रास्वपालाई अब जनताले सत्ताधारीको दृष्टिले हेर्नुपर्ने भएको छ । सत्तापक्ष भन्ने बित्तिकै भ्रष्टाचारी भन्ने भाष्य बनेको छ । यसबाट रवि कति चाखो भएर निस्कन्छन् ? हेर्नुपर्ने विषय हो ।

राजनीतिमा सत्ता महत्त्वपूर्ण पाटो हो । तर, सबै कुरा सत्तामात्रै होइन । पार्टी स्थापनाको उद्देश्य सत्ता र शक्ति सम्झिने परिपाटीले वैकल्पिक शक्तिहरूले आफ्नो अस्तित्व नामेट गरेको विगत छ । सडकमा रहँदा एउटा र सत्तामा पुग्दा अर्को भाषा बोल्ने अराजनीतिक र अनैतिक व्यवहार जनताबाट तिरस्कृत हुन्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । यत्ति कुराको हेक्का राख्न सकेको खण्डमा मात्रै वैकल्पिक राजनीतिक शक्ति भनेको सुहाउँछ ।

तर, अकारण सत्तामा जाने, पुराना दलहरूलाई सत्तोसराप गर्ने, पहिलो पुस्ताका नेताहरूलाई असफल भइसकेको दस्ताबेज लेख्ने तर, उनै पुराना दलहरूको पुच्छर बन्न नछोड्ने प्रवृत्तिले आशावादको हत्या गर्छ । बजारमा नयाँ र वैकल्पिक भन्नेहरूका भाषण सुन्दा यति भन्न सकिन्छ, यिनीहरू नयाँ जोगी हुन् । जसले वैकल्पिक राजनीतिको नाममा भ्रमको खरानी घसिरहेका छन् ।

केही दिनअघि रास्वपाका सभापति रवि लामिछाने भन्दै थिए, ‘अब यो चार वर्ष तपाईँहरू नै मिल्नुहोस् । हामीबाहेकको सहमतीय सरकार बनाउनुहोस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । हामी ८४ अगाडि कोहीसँग मिल्दैनौँ । तपाईँहरू सबै मिलेर रास्वपाविरूद्धको गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ।’ त्यतिबेला रविको कुरा सुन्ने मान्छेहरू आज पनि जिउँदै छन् ।

हिजो रविको कुरालाई लिएर ठिक भन्यो भन्नेहरू आज सत्तामा जाँदा पनि ठिक ग¥यो भन्दै छन् । रविलाई हिजो तिमीले यस्तो भनेका थियौँ, आज सत्तामा किन गएको ? भनेर कसैले प्रश्न गरेको देखिँदैन । न त रविले किन गृह नै रोज्यो भन्ने कुरा स्पष्ट पारेका छन् । यहाँ सत्यलाई सत्य र भ्रमलाई भ्रम भन्न सक्नेहरूको कमी छ । आफू अनुकूल व्याख्या गर्नेहरूको राज छ । राजनीतिमा सबैभन्दा फस्टाएको व्यवसाय नै आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति हो । यही प्रवृत्तिको चरम नमुना हुन् रवि लामिछाने ।

वैकल्पिक राजनीतिक शक्तिको महाभ्रम छरेर उदाएका रविहरू निष्ठा र नैतिकताभन्दा पनि सत्ता र शक्तिको पुजारी बनिरहेको अवस्थाले आयु धेरै लामो रहने छाँट देखाउँदैन् । रास्वपा वैचारिक अन्तरविरोधमा बाँचिरहेको छ । कुनै दस्तावेजमा मार्क्सवाद र कतै उदार लोकतन्त्रको कुरा गर्छ । चुनावभन्दा पहिले नो नट अगेन, पुराना दलले देश हाँक्न सक्दैनन्, अब हामीले देश हाँक्छौँ भनेर उदाएका रविहरूले चुनाव जितेपछि के–कस्ता प्रकरणले सडकमा पछारिनुपरेको भन्ने कुरा आम मानिसलाई थाहा छ ।

अर्को कुरा देश चलाउने कुरा भावनात्मक भाषणले सम्भव छैन । विचारहीन र सिद्धान्तहीन शक्तिले देश चलाउन सक्दैन । एकाध समयमा लोकप्रिय हुनु र कालान्तरसम्म पार्टीलाई जीवित राख्न सक्नु फरक कुरा हो । मिठो र चर्को बोल्दैमा देश र जनताको जीवनले काँचुली फेर्दैन । तमासे राजनीति र भाषणले आलाकाचा युवालाई प्रभावित बनाउँला । तर, समय घर्किँदै जाँदा मान्छेले बुझ्दै जान्छन् र साथ छोड्दै जान्छन् ।

रास्वपाका सोविता–तोसिमाहरू आज मौन बस्नुको भित्री रहस्य पनि यही हो । पार्टीको सम्पूर्ण प्राधिकार सभापति लामिछानेलाई दिएर बस्दा रास्वपा अतिरिक्त सत्तामोहको सिकार बनेको छ । नाजवाफ बन्नुपरेको छ । अस्तिसम्म तोसिमाहरू १७ हजार २ भन्दै प्लेलकार्ड बोक्दै थिए । आज उनै प्रचण्डले पुच्छर बनेर सत्ताको चास्नीमा डुबेको अवस्था छ ।

कन्फ्लिक्ट अफ इन्ट्रेस्ट

कुनै पनि आरोपमा मुछिएको व्यक्ति सत्तामा जाने कुरा राजनीतिक र नैतिकरूपमा शोभनीय मानिँदैन । त्यसैमा स्वार्थ बाझिने मन्त्रालय नै चाहिने यो कस्तो प्रकारको राजनीतिक नैतिकता हो ? के वैकल्पिक राजनीति शक्ति भन्नाले ताक परे तिवारी, नत्र गोतामे हो ? सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने सोही मुद्दा छानबिन गर्ने मन्त्रालयको नेतृत्व लिनका निम्ति देखाएको अतिरिक्त मोह कम देखिएन । मन्त्री नै हुनु थियो भने भौतिक पूर्वाधार मन्त्रालय लिएर दिगो विकासको पूर्वाधार खडा गरे हुँदैन थियो ? तर, स्वार्थ अर्कै थियो र छ ।

पछिल्लो समय सहकारी ठगी प्रकरणको अन्तिम परिणाम निकाल्ने बेला सत्ता परिवर्तन भयो । उक्त अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूमाथि उल्टै कारबाही गरियो । आफूमाथि अनुसन्धानका क्रममा रहेको सहकारी ठगी प्रकरण र अदालतमा विचाराधीन रहेको दोहोरो राहदानी प्रकरणको किनारा नलाग्दै झन्डा हल्लाउने खेलमा डुबेका रविहरूको राजनीति जनताले बुझिसकेको अवस्था छ ।

आफूमाथि अनुसन्धानमा रहेको फाइल आफ्नै नेतृत्वमा रहेको प्रहरी प्रशासनले कसरी न्यायोचित रूपमा अघि बढाउन सक्छ ? यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट होइन ? यसरी हेर्दा रास्वपाले भ्रष्टाचार, अस्थिरता र सत्ता मोहलाई प्रशय दिनु बाहेक केही काम गरेन । फोहोरी बनेको राजनीति सफा गर्ने भनेर आएकाहरू सबैभन्दा फोहोर देखिए । अरूलाई चोर भन्नेहरू महाचोर भएर निस्किए ।

नैतिकवान भन्नेहरूको नैतिकता दुई दिन पनि टिकेन । आजको अवस्थामा रवि गृहमन्त्री मात्रै होइन, देशको प्रधानमन्त्री बनेपनि सत्ताको चरित्र र देशको अवस्थाले पार पाउँदैन । यो देश एक्कासि बन्ने र भत्किने देश होइन । यो देश बिस्तारै बन्दैछ । विगतभन्दा आगत सुन्दर छ । यहाँ नयाँ दलको खाँचो होइन, पुराना दलहरू सच्निुपर्ने अनिवार्यता हो । पहिलो पुस्ताका नेताहरू सच्चिनुपर्ने पहिलो शर्त हो । रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण आजको प्रमुख आवश्यकता हो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १०:०१