सूचनाको शक्ति - The Power Of Information

        

आजबाट केवुल तारहरु व्यवस्थित गर्दै कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थितरुपमा रहेका केवुल तारहरु आजबाट हटाउने भएको छ ।

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडी क्षेत्रबाट केवुल तार व्यवस्थापन अभियान सुरु गरिने जानकारी दिए । विभिन्न स्थानमा तारहरु झुल्लिएका र लत्रिएका छन् ।

पोलहरुमा रहेका तारहरु पनि अव्यवस्थित रुपमा गुजुल्टिएका छन् । जसले गर्दा शहरको शोभा समेत कुरुप देखिएको छ । ‘विभिन्न केवुल प्रदायक संस्थाहरुबाट जडान गरिएका केवुल तारहरु कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको छ,’ उनले भने–‘जसका कारण आगलागीसँगै सवारी साधन दुर्घटनाको जोखिम समेत हुने गरेको छ ।

यसले कोहलपुरका शोभा समेत कुरुप बनाएकाले व्यवस्थापन गर्न थालिएको हो ।’ गत वर्ष पनि अव्यवस्थितरुपमा रहेका केवुल तारहरु हटाइएको थियो । गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्री सहरका तारहरु हटाउन लागिएको नगर प्रमुख थापाले बताए ।

केवुल तार व्यवस्थापन मापदण्ड नै छ । विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तार भन्दा दुई फिट मुनी र साढे तीन फिट बीच भागमा मात्र तार जडान गरी लाइने तान्नुपर्छ ।

फाइवर नेटवर्क संजालले आआफ्नो फाइवर केबुलको डि.बी. बक्स रहेको पोलमा ट्याकिङ चिन्ह लगाउनुपर्छ । पोलमा रहेको तार गुच्छा सम्वन्धी संस्थाले सकेसम्म सानो बनाई व्यवस्थित गरिनुपर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनुपर्छ, पोलमा रहेका पुरानो कामविहीन तारहरु सम्वन्धित संस्थाले हटाउनुपर्ने मापदण्ड छ ।

केवुल तार व्यवस्थापनका लागि गएको चैत १४ गते सम्बद्ध सरोकारवालाहरुको बैठकले तार व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्क, जनप्रतिनिधि सम्मेििलत बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०८:४९

लोकप्रिय