सूचनाको शक्ति - The Power Of Information

        

धम्बोझीका आधा दर्जन मासु पसलमा अनुगमन

नेपालगञ्ज उपमहानगरपालिकाले मासु पसलहरुको अनुगमनलाई निरन्तरता दिएको छ ।

आइतबार पनि मासु पसलहरुको अनुगमन गरिएको छ । वडा नम्बर १ का आधा दर्जन मासु पसलमा अनुगमन गरिएको हो । त्यस अघि शुक्रबार वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुमगन गरिएको थियो ।

पशु सेवा शाखाले स्वच्छ मासु उत्पादन तालिम दिइएका वडा नम्बर १ का १५ वटा मासु पसल मध्ये आधा दर्जन पसलमा अनुगमन गरेको शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । तालिम लिएपछि ब्यवसायीहरुले त्यसलाई व्यवहारमा कति लागू गरेका छन् भनेर बुझ्न अनुगमन गरिएको शाहीको भनाई छ ।

पाराहान केसी फ्रेस हाउस, थापा मासु पसल, आदित्त फ्रेस हाउस, पोखरेल फ्रेस हाउस र एस.एम. फ्रेस हाउसमा अनुगमन गरिएको हो । धम्बोझी क्षेत्रका ती मासु पसल अनुगमन गरिँदा कतिपयले साइनबोर्ड समेत राखेका छैनन् भने अधिकांशमा मूल्यसूची छैन । एउटा पसल दर्ता समेत नगरेको पाइएको छ ।

कतिपय पसलमा सरसफाईको कमी समेत देखिएको छ । त्यस्ता पसललाई सजग बनाइएको छ । सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई ब्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखा प्रमुख शाहीले बताइन् ।

अनुगमन टोलीमा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, पशु प्रजनन कार्यालयका पशु चिकित्सक डा. मिलनकुमार चौधरी, पशु सेवा शाखा प्रमुख शाही, पशु सेवा शाखाका अच्युत गौतम, रिता राना, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी लगायत सहभागी थिए । अनुगमनलाई निरन्तरता दिइने शाहीले बताइन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०८:४७

लोकप्रिय