सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका एक नक्कली औषधी बिक्रेता कारागार चलान

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा गत फागुन २४ गते सरोकारवाला निकायको सहभागितामा बजार अनुगमनका क्रममा फेला परेका बाँकेका एक नक्कली औषधी बिक्रेतालाई अदालतले कारागार चलान गरेको छ ।

डुडुवा गाउँपालिका ६ चौधरीपूर्वाका नक्कली औषधी बिक्रेता विकास लखेरलाई माग गरेको एक लाख रुपियाँ धरौटी बुझाउन नसक्दा जिल्ला अदालत बाँकेले आइतबार कारागार चलान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

गत फागुन २४ गते प्रशासनको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा लखेरले डुडुवा गाउँपालिका वडा नं. ६ स्थित चौधरीपूर्वामा नक्कली औषधी पसल सञ्चालन गरेको पाइएको थियो । अनुगमन टोलीले तत्काल उक्त पसललाई बन्द गरेर बिक्रेता लखेरलाई पक्राउ गरेको थियो ।

नक्कली औषधी बिक्रेता विकास लखेरलाई औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमार्फत् कारबाही अगाडि बढाइएकोमा औषधी ऐन २०३५ अनुसार ५ वर्ष कैद र ५० हजार जरिवाना दाबी गरी अदालतमा अभियोग दर्ता गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

आइतबार जिल्ला अदालतबाट लखेरलाई एक लाख रुपियाँ धरौटी माग भएकोमा उनले धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

लखेरले प्रचलित कानुनअनुसार कहिँकतै दर्ता समेत नगरिएको औषधी पसल सञ्चालन गर्दै आएका थिए । लखेरसँग औषधी बिक्री गर्ने योग्यताको प्रमाणपत्र नभएको पाइएको थियो । दर्ता नभएको पसल र बिक्रेता दुवै नक्कली भएको पुष्टि भएपश्चात् औषधी व्यवस्था विभागले कारबाही प्रकृया अगाडि बढाएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०८:४२

लोकप्रिय