सूचनाको शक्ति - The Power Of Information

        

कास्कीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालकसहित १० जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुवै जना पुरुष रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकी ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीको थामडाँडामा तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भएर झण्डै चार सय मिटर तल खसेको उद्धारमा खटिएका पत्रकार भानु ढकालले जानकारी दिनुभयो।

ढकालका अनुसार स्थानीय र प्रहरीको पहलमा घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालमा ल्याइएको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १९:३६