सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : कविता

के आमा अशिक्षित हुन् ?

भविष्यको चिन्तामा हराएको जवानी अतितमा पुगेर बाँच्न खोज्ने बुढेसकाल गाउँमा बिताइन् ।

आफैँ भित्र उज्यालो बोकेर
अँध्यारो लपेटोमा बेरिएकी छन् आमा
जीवनको उत्तराखण्डमा पनि ब्यस्त छिन्
ज्ञान र संस्कारमा अभ्यस्त छिन् ।
किनारामा बसेर हेर्दा लाग्छ
आमासँग भनेजस्तो जीवन छ
गहिराइमा डुबेर हेर्दा लाग्छ आमासँग
दूरदर्शिता छ ।

शहरको पहुँचभन्दा धेरै पर
गाउँको कोखबाट जन्मिएकी आमा
वर्तमानमा बाँच्ने बालपन
भविष्यको चिन्तामा हराएको जवानी
अतितमा पुगेर बाँच्न खोज्ने बुढेसकाल गाउँमा बिताइन् ।
न स्कुलको ढोका कस्तो हुन्छ देखिन्
समाएर कलम न कुनै अक्षर लेखिन्
तर पनि आमाले,
वेद पढिन्, पुराण सुनिन्
गीता र रामायणमा जीवन खोजिन्
सीता बनेर सतीत्व बोकिन् ।

मेरी आमाले,
धर्म शास्त्रलाई ज्ञानको स्रोत बनाएकी छन्
आदर्श पात्रको रूपमा सीताराम,राधाकृष्णलाई उभ्याएकी छन् ।
मर्यादापालक पुरुष हुन् राम
डटेर भन्छिन् आमा
बहस गर्छु म
सीताको अग्नि परिक्षाको कुरा जोडेर
बाध्यतालाई चरित्रसँग जोड्न नमिल्ने ज्ञान छ आमासँग
रानीको कमि थिएन दरवारमा
माया थियो र पो लंका पुर्यायो
आमाका शब्द वाणीझैँ लाग्छन् मलाई ।

भन्छिन्
लक्ष्मण र भरतजस्ता भाई भए
रामजस्ता दाजुले दुनियाँ जित्छन्
यो विखन्डित हुँदै गरेको समाजलाई
उदाहरण दिन्छिन्
कृण र अर्जुनको जस्तो मित्रता
बनाउन सके
असम्भव पनि सम्भव हुनसक्छ
आमाका यी चेतनाले मलाई
आमा अशिक्षित हुने भन्न दिदैन ।

भन्छिन्,
अशिक्षित हुनु ठुलो कुरो भएन
अज्ञानी हुनु ठुलो हो
लाग्छ आमा
अध्यारो चिर्न नसकेको उज्यालो हुन्
जो अक्षय ज्ञान लिएर
अँध्यारो बनेर चिनिन्छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १७:००

लोकप्रिय