सूचनाको शक्ति - The Power Of Information

        

किताबको गातामा मान्छेको छाला !

दुर्लभ पुस्तकमध्ये एक मानिएको ‘डेस्टिनिज अफ द सोल’ अरूभन्दा पृथक् छ । १९ औँ शताब्दीमा लेखिएको र हार्भर्ड विश्वविद्यालयले प्रकाशित गरेको पुस्तकको विशेषता भन्नु नै यसको आवरण हो । आवरणको गाता छालाले मोरिएको छ । यो छाला कुनै जनावरको होइन । मान्छेको हो ।

विश्वविद्यालयले मान्छेको छालाले मोरिएको सो पुस्तकको गाता हटाउने निर्णय गरेको छ । नैतिक रूपमा भयावह प्रकृतिको भएकाले गाता हटाउने निर्णय भएको विश्वविद्यालयले जनाएको हो । त्यो बेला किताबको मूल्य बढाउन यस्तो गरिएको भए पनि त्यसलाई कायम राखिरहन जरूरी नभएको भन्दै छाला हटाउने निर्णय गरिएको बताइएको छ ।

विश्वविद्यालयको हगटन लाइब्रेरीमा यो पुस्तक सन् १९३० को दशकदेखि थियो । सन् २०१४ मा गरिएको एउटा परीक्षणले यो मान्छेको छाला भएको प्रमाणित भएयता पुस्तकालयलाई सो छाला हटाउन दबाब पर्दै आएको थियो । यो पुस्तक फ्रान्सेली लेखक आर्सेन हाउसेले लेखेका हुन् । मान्छेको मृत्युपछि आत्माको अवस्था के हुन्छ भन्ने चिन्तन यस पुस्तकमा गरिएको छ ।

त्यसो त पुस्तक निस्कदै यसको गातामा मान्छेको छाला मोरिएको होइन । पुस्तकको पहिलो प्रति आफ्नो हातमा परेपछि फ्रान्सेली चिकित्सक लुडभिक बउल्यान्डले मृतव्यक्तिको छालाले यसलाई मोरेका हुन् । हार्भर्डका अनुसार चिकित्सक बउल्यान्ड कुनै मृत महिलाको छाला प्रयोग गरेका हुन् । ती महिलाका परिवारसँग उनले कुनै सल्लाह नै नगरी प्रयोग गरेका थिए ।

पुस्तकालयका आर्काइभिस्ट टम हाइरी भन्छन्, ‘जब हामीलाई यस्तो कुरा थाहा भयो, हामीलाई एक किसिमको नैतिक दबाब भयो । हामीले निकै लामो छलफलपछि यो पुस्तक हटाउने निर्णय गरेका हौँ ।’ कुनै पुस्तकमा मान्छेको छाला मोर्ने काम वा कलालाई एन्ड्रथोपोडर्मिक बिब्लियोपेजी भनिन्छ । यो सन् १९०० सम्म निकै लोकप्रिय थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार ०८:५१

लोकप्रिय