बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् ।
उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गरेका छन् । बाँकेको खजुरा गाउँपालिका–३ बि गाउँका कृषक राजकुमार गुरुङले तरकारी विक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगन्ज लैजानुपर्ने बाध्यता रहेको बताए ।
‘तरकारी उत्पादन राम्रै गरेका छौँ, आम्दानी ठिकै छ तर उत्पादन भएको तरकारी बजारसम्म लैजान ढुवानीको समस्या छ,’ उनले भने, ‘बल्लतल्ल ढुवानीको साधन जोहो गरेर तरकारी बजारमा पुर्यायो व्यापारीलाई कमिसन दिनुपर्छ ।’ नेपालगन्जका ठुला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा कृषक मर्कामा परेको उनले बताए ।
‘हामीले उत्पादन गरेका तरकारी अग्र्यानिक हुन्छन्, सस्तो पनि हुन्छ,’ कृषक गुरुङले भने, ‘व्यापारीले भारतबाट ठुलो मात्रामा तरकारी ल्याउँदा हामीले उत्पादन गरेका तरकारीले भाउ पाउँदैन, थोक व्यापारीले लिन मान्दैनन् अनि बाध्यताले कमिसन दिनुपर्छ ।’ तरकारी बिक्री गरिदिन थोक व्यापारीलाई सय कडा आठ प्रतिशतसम्म कमिसन दिनुपर्ने बाध्यता रहेको कृषकको गुनासो छ । अर्का किसान पदमबहादुर रानाले पनि गुरुङकै जस्तो समस्या भोगेको बताए ।
विगत २७ वर्षदेखि कृषि पेसा गरेका रानाले कृषि फर्ममार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दै आएका छन् । ‘तरकारी र फलफूलजन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौँ, आम्दानी राम्रै छ,’ किसान रानाले भने, ‘तर उत्पादित तरकारी बजारसम्म पुर्याउन समस्या छ, सवारी साधन छैन, भाडाको सवारी खोजेर कोहलपुर र नेपालगन्जसम्म तरकारी पुर्याउनुपर्छ ।’ कृषि समूहलाई अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएको छ ।
बाँके युनेस्को क्लबले पानी तान्ने ठुलो समरसेल मोटर र पाइप सहयोग गरेको रानाले छ । खजुरा–३ बी गाउँको हरियाली कृषक समूहमा २२ जना किसान आबद्ध छन् । उनीहरूलाई पालिकाले छ लाख अनुदान दिएको छ । समूहमा आबद्ध हरेक किसानले तीनदेखि पाँच बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले बताए ।
उनले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने बताए । कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीतिअनुसार काम गर्दै आएको छ । अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताए । खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेटका रूपमा विकास हुँदै गएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके