सूचनाको शक्ति - The Power Of Information

        

झुम्का कारागारभित्र कैदीबन्दीको मृत्यु, हत्याको आरोप

सुनसरीको झुम्का कारागारभित्र शनिबार ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिकाका राईको मृत्यु भएको हो ।

कारागारभित्रै कुटेर हत्या गरिएको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने न्यायधीशका दाइ सुभाष राईले माग गरे ।

न्यायधीशको शरीरभरि नीलडाम रहेको, कान सुन्निएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरिएको उनका भाउजू उर्मिला राईले दाबी गरिन् ।

जिल्ला अस्पतालमा उपचारका क्रममा कैदीबन्दी राईको मृत्यु भएको झुम्का कारागारका प्रमुख धु्रवराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका निम्ति जिल्ला अस्पतालमा भर्ना गरेको र उपचारका क्रममा राईको मृत्यु भएको उनको भनाइ छ ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले अस्पताल ल्याउनुअघि नै राईको मृत्यु भइसकेको बताइन् ।

पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार ०७:३८

लोकप्रिय