सूचनाको शक्ति - The Power Of Information

        

आईपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो ।

आरसीबीका लागि विराट कोहलीले ५९ बल खेल्दै ८३ रनको शानदार अर्धशतक बनाए । क्यामरुन ग्रिनले २१ बलको सामना गर्दै ३३ रन जोडे, ग्लेन मेक्सवेलले १९ बलमा २८ रन बनाउँदा दिनेश कात्तिकले ८ बलमा २० रन बनाए । कप्तान फाप्फ डु पेलेसिस ६ बलको सामना गर्दै ८ रनमै आउट भए ।

आरसीबीको इनिङस धरापमा पार्न हर्षित राना र आद्रे रसेलले समान दुई-दुई विकेट लिए भने सुनिल नारायणले एक विकेट हात पारे । टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले पाएको १८३ रनको लक्ष्य १६ दशमलव ५ बलमै पूरा गरेको हो । उसका लागि वेंकटेस अय्यरले ३० बलमा ५० रन जोड्दै अर्धशतक बनाए ।

सुनिल नारायणले २२ बलमा ४७ रनको योगदान दिए भने फिल साल्टले २० बलमा ३० रन जोडे । कप्तान श्रियस य्यरले नटआउट ३४ बलमा ३९ रन बनाउँदा रिंकु सिंह नटआउट ५ बलमा ५ रनमै समेटिए । तीन विकेटको क्षतिमा कलकताले १८६ रन बनाउँदै आरसीबीमाथि ७ विकेटको शानदार जित निकालेको हो ।

आरसीबीका लागि यश दयाल, मयंक डागर, विजयकुमार विशाकले एकएक विकेट हात पारे । यो जितसँगै दुई खेल खेलेको कलकता चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेल खेलेको आरसीबी दुई अंकमा सीमित भएको छ । शनिबार लखनउ सुपर जाइन्ट र पञ्जाब किंग्सको खेल हुँदैछ । यो खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ०६:५६

लोकप्रिय