दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्ध कोकिला बिक्री गरेर यस वर्ष करिब रु.दुई करोड आम्दानी गर्न सफल भएका छन् । माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बन्ने गरेको छ । चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासनादार बनेको छ ।
यस वर्ष मौसमले निकै साथ दिएपछि मालागेडी अर्थात् सुगन्धकोकिला बिक्रीबाट राम्रो आम्दानी भएको छिल्लीकोटबासी बताउँछन् । यस रु ५७ हजार प्रतिक्विन्टलमा मालागेडी बिक्री भएको स्थानीय तिलबहादुर वलीले बताए । उनले यसपटक १० क्विन्टल मालागेडी बिक्री गरे । बाउबाजेको पालामा रोपेको मालागेडीका रुख अहिले ठूलाठूला भएर फल दिने भएका छन् ।
पछिल्लो समय व्यावसायिक रुपमा यसको खेती गर्न थालेपछि रोपिएका रुपले पनि प्रशस्त मात्रामा फल दिन थालेको छ । त्यसले गर्दा मालागेडी बिक्री गरेर उहाँले मनग्य आम्दानी गरे । स्थानीय ६७ वर्षीयी नत्रबहादुर खत्रीको १२ जनाको परिवार छ । यस वर्ष उहाँले १२ क्विन्टल मालागेडी बिक्री गरेर रु छ लाख ८४ हजार आम्दानी गरे ।
रोपेको छ वर्षपछि नै बिरुवाले फल दिन थालेको उनले बताए । उनको घरमा ५० बोट जति पुराना रुख छन् । अरु नयाँ बोट पनि हुर्किरहेका छन् । हुर्केका बिरुवाले वर्षौंसम्म फल दिन्छन् । एक पटकको लगानीले वषौंसम्म आम्दानी दिने भएपछि यहाँका अधिकांशको घरमा मालागेडीका बिरुवा भएको खत्रीले बताए ।
पाकेपछि रुखबाट खस्ने फललाई संकलन गरेर बिक्री गर्ने गरेको सोही वडाको खानी गाउँका खुमा थापाले बताए । उनी पेसाले शिक्षक हुन्छन् । उनी जनता मावि बिजौरीमा शिक्षण गर्छन् । गाउँका हरेक घरमा मालागेडीका रुख छन् । बिदाको समयमा मालागेडी संकलन गर्ने गरेको उनले बताए । विश्वमै लोपोन्मुख प्रजाति मालागेडी अर्थात् सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रशस्त मात्रामा पाइने गरेको उनले बताए ।
अन्यत्र फलेको मालागेडीभन्दा छिल्लीकोटमा फलेको मालागेडीले मूल्य राम्रो पाउने गरेको थापा बताउँछन् । फूल फुल्ने समयमा असिना पानी परेन भने राम्रो फल दिने उनले बताए । यस वर्ष हावापानीले राम्रै साथ दिएपछि गाउँभरबाट करिब १५० क्विन्टल मालागेडी निकासी भएको उनी बताउँछन् । एक घरबाट दुई क्विन्टलदेखि १२ क्विन्टलसम्म मालागेडी बिक्री भएको बताइएको छ । मालागेडी किन्न व्यापारी घरमै आउने हुँदा बजारको समस्या नरहेको उनको भनाइ छ ।
तुलसीपुर–१८ को दूधरासबाट उत्तर पहाडमा करिब १२ किलोमिटरको दूरीमा रहेको छिल्लीकोटमा मालागेडी लगायत थुप्रै आयुर्वेदिक वनस्पति पाइन्छन् । ‘यो हाम्रा लागि आम्दानीको गतिलो स्रोत हो,’ स्थानीय तिलबहादुर वलीले भने, ‘मालागेडी नै हाम्रो मुख्य आम्दानीको स्रोत हो, छिल्लीकोटका सबै घरपरिवारले व्यावसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन्, स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो ।’
असोज लागेपछि कालो भएर आफैँ खस्ने मालागेडी संकलन गर्न सजिलो होस् भन्दै रुखको वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ । यसरी संकलन गर्दा चाँडो हुने गरेको उनी बताउँछन् । मालागेडी बेच्न बजार खोज्नु पर्दैन मानिस घरमै आउँछन् । बर्सेनि यसको माग र मूल्य दुवै बढ्दै गएको छ । नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायत कच्चापदार्थका रुपमा लिइने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान बनेको छ ।
छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, तिनुखोला, डोटेल डाँडा, पीपलडाँडा, पैयाँ टाकुरा लगायत आसपासमा मालागेडीका रुखैरुख छन् । हाल यो वनस्पतिको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा रहेको स्थानीय किसान परवीर पुनले बताए । हालसम्म २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीका बिरुवा पठाइएको उनले बताए । डिभिजन वन कार्यालयले हरेक वर्ष आफ्ना नर्सरीमा उन्नत जातका मालागेडीका बिरुवा उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गर्दै आइरहेको कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
रञ्जिता अधिकारी । दाङ