सूचनाको शक्ति - The Power Of Information

        

शुक्लाफाँटामा रिक्त दरबन्दीमा ‘सिमसार गज’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट सिमसार गजलाई रिक्त दरबन्दीमा सरुवा गरेर ल्याइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णयअनुसार साढे तीन वर्षको भाले सिमसार गजलाई सरुवा गरी ल्याइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए । उनका अनुसार निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहेको छ ।

त्यसमा नाराणकली, सुर्तिकली, रुपकली र शुक्लाकली गरी चार पोथी तथा लवप्रसाद, सिद्धप्रसाद, शेषचन्द्र गज, नारायणप्रसाद र सिमसार गज गरी भाले पाँच हात्ती छन् । ‘दश दरबन्दीमा निकुञ्जमा एक थपिँदा नौ हात्ती भएका छन्,’ उनले भने, ‘एक हात्तीको दरबन्दी अझै रिक्त रहेको छ ।’

निकुञ्जमा गस्तीको कार्य गर्न, वन्यजन्तुको अनुगमन गर्न, उद्धार गर्न र पर्यटक घुमाउनका लागि हात्तीको प्रयोग हुने गरेको छ । निकुञ्जको पिपरिया, शुक्लाफाँट र मालुबेलामा हात्तीसार रहेका छन् । हात्ती सारमै आवश्यकताका आधारमा हात्तीलाई राख्ने गरिएको छ । हात्तीको रेखदेखका लागि माउते, फणित र पछुवाको दरबन्दी रहेको छ ।

दरबन्दीअनुसारको निकुञ्जलाई हात्ती रेखदेख गर्ने जनशक्ति अभाव छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज जङ्गली हात्तीको पनि बासस्थानका रुपमा रहेको छ । बर्सेनि भारतको पिलिभित हुँदै जङ्गली हात्तीको बथान निकुञ्जमा आउने गरेको छ ।

‘निकुञ्जमा बाह्रै महिना २० देखि २५ को सङ्ख्यामा हात्तीको बथान रहने गरेको छ,’ निकुञ्जका सूचना अधिकारी ऐरले भने, ‘त्यो समूह निकुञ्जमा समूह समूहमा विभाजन भएर बस्ने गरेको छ, त्यसमा छ भाले हात्ती रहने गरेका छन् ।’

‘जङ्गली हात्ती निकुञ्ज हुँदै चुरे क्षेत्रसम्मको पुरानो जैविक मार्गमा हिँड्डुल गर्ने गरेका छन् । निकुञ्ज पुग्ने हात्तीका बथान भारतीय दुधुवा नेसनल पार्कसम्म पुग्ने गर्दछन् । दुधुवा नेसनल पार्क जाने पुरानो जैविक मार्गको बीचमा बस्ती बस्दा हात्तीलाई ओहोरदोहोर गर्न निकै अप्ठ्यारो हुने गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १७:३८

लोकप्रिय