सूचनाको शक्ति - The Power Of Information

        

अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित

अन्तिम पाँच ओभरमा ६ विकेट गुमेपछि नेपाल आयरल्यान्ड वुल्भ्ससँगको खेलमा २१ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा २०१ रन बनाएको हो । नेपालका लागि लोकेश बमले विस्फोटक शतक प्रहार गरेका थिए ।

उनले ५६ बलमा १०६ रन बनाए । नेपालको शुरुआत राम्रो रहेन । विनोद भण्डारी १६ रनमा आउट भए भने त्यसपछि देव खनालले एक बलमा आउट भए । त्यसपछि आएका अर्जुन घर्ती पनि तीन रन बनाएर आउट भए । त्यसपछि आएका आरिफ शेखले प्रारम्भिक ब्याटर बमसँग १२१ रनको साझेदारी गरे । बमले शतक प्रहार गर्दा शेखले ४९ रन बनाए ।

बलियो स्थितिमा रहेको नेपालले १५औं ओभरको अन्तिम बलमा बम आउट भएपछि सम्हालिन सकेन । त्यसपछि लगातार आरिफ शेख, किरण ठगुन्ना, रसिद खान, कमल ऐरी, बसिर अहमद र हेमन्त धामी आउट भए । बम आउट भएपछि नेपालले १२ रन मात्रै जोड्न सक्यो भने पाँच विकेट गुमायो । आयरल्यान्डका लागि फिन ह्यान्ड र म्याथ्यु हम्फेयर्सले तीन–तीन तथा म्याथ्यु फोस्टरले दुई, थोमस मायस र गभिन होइले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको आयरल्यान्डले पाँच विकेटको क्षतिमा २२२ रन बनाएको थियो । आयरल्यान्डका लागि पेटर मुरले ४९, नेल रोक र केड कार्निचलले ३८–३८ तथा स्टेफन डोहेनीले ३४, गेरेथ डेलानीले ३० र गभिन हनीले १८ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले तीन, सागर ढकाल र आरिफ शेखले एक–एक विकेट लिए । नेपाल र आयरल्यान्डको दोस्रो खेल शनिबार दिउसो १ बजे हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १७:०६