सूचनाको शक्ति - The Power Of Information

        

बाँदरको बन्ध्याकरण विद्या सिकेर फर्किए नेपाली विशेषज्ञ

बाँदरले किसानको खेतीवाली नष्ट गर्दै आएको बर्षौं भयो । सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरको उपद्रो गणना गरिनसक्नु नै छ । बाँदरको उपद्रो नियन्त्रण गर्न सरकारी तवरबाट भएका विभिन्न प्रयासहरु असफल हुँदै आएका छन् । स्थानीय तहमा भएका घरेलु अभ्यासहरु प्रभावकारी हुन सकेका छैनन् ।

बाँदरकै कारण तरकारी, फलफूल र अन्नबाली उत्पादनमा कमी आएको र राष्ट्रिय अर्थतन्त्रमा व्यवधान खडा भएको भन्दै संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा नेपाली प्राविधिकहरु भारतमा बाँदर नियन्त्रणको उपाय सिकेर फर्किएका छन् । देशैभरका किसान पीडित भइरहेको बेला भारतको हिमाञ्चल प्रदेशमा सफल मानिएको बाँदर नियन्त्रणको प्रभावकारी विधि बन्ध्याकरणको अभ्यास सिकेर नेपाली टोली स्वदेश फर्किएको छ ।

हिमाञ्चलमा बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफल भएपछि समिति र भारतीय दुतावासको सक्रियतामा पहिलो चरणमा १० जना पशु चिकित्सक र ५ जना रेञ्जरले तालिम लिएका हुन् । हिमाञ्चलको सिम्लामा तालिम लिएर फर्किएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर पुरनदेव मिश्रका भारतमा कानूनमा नै व्यवस्थित हुँदा सजिलो भएको बताए ।

‘घरपालुवा र जंगली जनावरमा फरक फरक कानून रहेछ । जसले गर्दा हिमान्चलमा सजिलै व्यवस्थापन गरिएको पाएका छौं । हामीले त्यहाँ बाँदर नियन्त्रणमा लिने र त्यसलाई व्यवस्थापन गर्ने विधि प्रयोगात्मक रुपमा पनि हेर्न पायौं । नेपालमा त्यसको सम्भावना छ र कार्यान्वयनमा लान सकिन्छ भन्ने लागेको छ,’ उनले भने ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द चितवनका डा. बब्लु ठाकुरले भारत भ्रमण प्रभावकारी भएको बताए । नेपाल र हिमान्चलको भूगोल मिल्दोजुल्दो भएको, बाँदरको समस्या उस्तै रहेकाले त्यसको व्यवस्थापनमा नेपालमा पनि समस्या नहुने सुनाए । ‘हिमाञ्चलका एक जना सरदारले बाँदरले दुःख दिएको भन्दै उच्च अदालतमै मुद्दा दायर गरेका रहेछन् । अदालतको आदेश आएपछि स्थानीय सरकारले काम सुरु गरेको जनाइएको छ ।

‘पहिले त कानून बनाउन त्यहाँको सरकारले मेहनत गरेको देखिन्छ, त्यसपछि प्राविधिक पक्षमा काम गरेको देखिन्छ,’ डा.ठाकुरले भने, ‘हिमाञ्चलमा बाँदरलाई समातेर बन्ध्याकरण गर्ने वा मार्नसमेत पाउने गरी कानून पारित गरेको रहेछ । तर सरकारले बाँदरलाई समातेर बन्ध्याकरण विधिपालना गर्दा धेरै हदसम्म नियन्त्रण भएको हामीले भ्रमणका क्रममा जानकारी पायौं ।’ हिमाञ्चलममा हालसम्म १ लाख ८६ हजार बाँदरको अप्रेसन गरिसकेको उनले बताए ।

‘बाँदर आतंकबाट बच्न हिमाञ्चल सरकारले अपनाएको विधि विश्वकै नमूना रहेछ । पाँच वटा बन्ध्याकरण सेन्टर स्थापना गरिएको रहेछ । मान्छेको जस्तै बन्ध्याकरण विधि अपनाएको रहेछ । मान्छेलाई जस्तै दुई वटा प्वालपारेर गरिने अप्रेसन गर्ने विधि त्यहाँ बाँदरमा प्रयोगमा ल्याएको पायौं । यो विधि हामीले पनि नेपालमा प्रयोग गर्न सक्छौं,’ उनले भने । यसको नियन्त्रण वा व्यवस्थापनका लागि नीतिगत वा कानूनी सुधारलाई नेपालले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ छ ।

वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कुनै पनि वन्यजन्तु लखेट्न, मार्न, पक्रन, दुःख दिने वा सो प्रयत्न गर्नेलाई कसुर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजायहुने व्यवस्था भएकाले त्यसमा संशोेधन गर्नु जरुरी रहेको बताए । नेपालको कानूनमा गैरकानूनी तरिकाले बाँदर नियन्त्रणमा लिनु संरक्षित वन्यजन्तुलाई हानी नोक्सानी पुर्याए दण्ड सजायको व्यवस्था छ । बाँदरलाई मार्ने, बन्ध्याकरण गर्ने, समात्ने, पाल्ने लगायतका कार्य दण्डनीय मानिन्छ ।

संसदीय समितिको निर्णय

किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भनेर २५ पुसमा संसदीय समितिले निर्णय गरेको थियो । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यो निर्णय गरेको हो । समितिका सभापति डा.आरजु राणाले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन् । भारतीय दूतावासले समितिको तर्फबाट आफूले गरेको अनुरोध स्वीकार गरेको भन्दै सभापति राणाले हिमाञ्चल प्रदेशमा बाँदर नियन्त्रणको प्राविधिक उपाय र बाँदरको बन्ध्याकरणबारे नेपाली भेटेरनरी डाक्टरलाई तालिमका लागि पठाइएको उनले जानकारी दिएका छन् ।

हिमाञ्चलका बाँदरको हालचाल

सन् २०१६ मा भारतको हिमाञ्चल प्रदेशले पहिलो पटक बाँदरहरूलाई एक वर्षको लागि ‘कीरा’ घोषणा गर्यो । यस अवधिमा बाँदर मारेर उनीहरूको जनसंख्या नियन्त्रण गर्न अनुमति दिइयो । यसपछि प्रदेश सरकारले सन् २०२१ मा बाँदर नियन्त्रणका लागि समय थप्ने अनुरोध अस्वीकार गर्दै चार पटक समय थपिदियो ।

के हो बाँदर नियन्त्रण कार्यक्रम ?

हिमाञ्चल प्रदेश बाँदरको लगातार बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न बाँदरको वन्ध्याकरण अभियान सुरु गरेको भारतकै अग्रणी राज्य हो । बाँदर पक्रनेलाई प्रोत्साहन गर्न राज्यले प्रतिबाँदर ५०० रुपैंयाँ प्रोत्साहन भत्ता दिने गरेको छ । हिमाञ्चलकी प्रमुख वन्यजन्तु संरक्षक सविताले प्रदेशमा २००७ यता १ लाख ६२ हजार बाँदरको वन्ध्याकरण गरिएको बताइन् ।

यो अभियानले चार लाखभन्दा बढी बाँदरका छाउरा जन्मिनबाट रोकेको उनको भनाई छ । राज्यमा हाल बाँदरको जनसंख्या १ लाख ३६ हजार ४४३ रहेको र पाँच वर्षअघिको पछिल्लो गणनाको तुलनामा ३३ दशमलव ५ प्रतिशतले घटेको हिमाञ्चलकी प्रमुख वन्यजन्तु संरक्षक सविताले बताइन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १६:२१

लोकप्रिय