सूचनाको शक्ति - The Power Of Information

        

सडक दुर्घटना

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको छ ।

गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन् । एकबिहानै सुलोचनाका देवरले फोन गरे ।

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौँ आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गरेका रहेछन् । मध्यरातको २ बजे श्रीमान्सँग फोन सम्पर्क गरेर सुतेकी सुलोचना देवरको फोनसँगै आत्तिइन् ।

उनले श्रीमान्लाई पटकपटक फोन सम्पर्क गर्न खोजिन् तर श्रीमान्को फोन लागेन । त्यसपछि तत्काल सुलोचनाका देवर, जेठाजु र आफन्त गजुरी गए । सुलोचनाको भने जाने हिम्मत बनेन । उनी पछि मात्र त्यहाँ पुगिन् । प्रकाश पहिले पनि दुर्घटनामा परेका थिए । सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो ।

स्थानीयवासी, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो । त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । ‘प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै शव भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ,’ सुलोचना भन्छिन् ।

वित्त विषयमा एमफिल पूरा गरेकी सुलोचना विद्यावारिधिको तयारीमा थिइन् । श्रीमान्को निधनसँगै उनको उक्त सपनासमेत तत्कालका लागि तुहिएको छ । नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढेका थिए । उनको निधनसँगै देशले पनि एक होनहार युवा व्यवसायी गुमाएको छ ।

लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौँ आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् । उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउँछन् । ‘एकातिर जीर्ण सडक र अर्कातिर क्षमताभन्दा धेरै यात्रु भएको कारण खाल्डोमा गएर बसको टायर ठोकिएको र उफ्रेर अगाडि बढ्न खोज्दा बस पल्टन गएको अनुसन्धानमा देखिएको छ,’ उनी भन्छन् ।

यस्तै गत चैत ५ गते सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो । पत्रकार परियार दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गाडी चढेर काठमाडौँ आउँदै थिए ।

दलित पत्रकार सङ्घको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने सपनाका साथ काठमाडौँ आएका पत्रकार परियारको बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु भयो । पत्रकार परियार बुबा रनवीर र आमा रश्मीका कान्छो छोरा हुन् । उनका जेठो दाइ अमृत परियार परिवारसँग दाङमा बस्दै आएका छन् ।

बुबाको पहिले नै मृत्यु भइसकेकाले आमाको हेरचाह गरेर परियार रुकुममा बस्दै आएका थिए । दुर्घटनामा विक्रमको मृत्युसँगै आमा रश्मीको साहारा गुमेको छ । बागमती प्रदेशको ०१–००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा निधन भएको थियो ।

बस सडकबाट अन्दाजी एक सय ५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत पुस २७ गते बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो ।

राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । यसैगरी गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए ।

प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरावस्थाका कारण भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरू अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार ३०५ जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार ७२६ व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार ३०३ जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म २९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।

यस्तै, लुम्बिनी प्रदेशमा २६१, कोशी प्रदेशमा २१९, बागमती प्रदेशमा १७३, सुदूरपश्चिम प्रदेशमा १०४, गण्डकी प्रदेशमा १००, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् ।

दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ११ हजार ६१९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार ८३०, बागमती प्रदेशमा एक हजार २२१, लुम्बिनी प्रदेशमा ९२९, कर्णाली प्रदेशमा ८०६, गण्डकी प्रदेशमा २९२ र सुदूरपश्चिम प्रदेशमा २२८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउँछन् ।

चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार ६४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव २०७६–०७७ मा दुई हजार २५१, आव २०७७–०७८ मा दुई हजार ५००, आव २०७८–०७९ मा दुई हजार ८८३ र आव २०७९–०८० मा दुई हजार ३६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

यस्तै आव २०७६–०७७ मा चार हजार ६१५, आव २०७७–०७८ मा छ हजार ४४८, आव २०७८–०७९ मा सात हजार २८२ र आव २०७९–०८० मा पाँच हजार ७३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु

सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र ११७ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर ११७ जनाले अकालमा ज्यान गुमाएका हुन् । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् ।

‘साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ,’ उनी भन्छन् । कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार ३४५, तीव्रगतिका कारण एक हजार ९४८, मादक पदार्थ सेवनका कारण ४७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् ।

सडक दुर्घटनाका मुख्य कारण

सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ ।

उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँच वटा रहेको बताएको छ । सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ । नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ ।

यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउँछन् ।

‘दक्ष र सीपालु चालक अनुशासित भएर सवारी चलाउँदा दुर्घटनामा कमी आउँछ,’ उनी भन्छन् । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दुर्घटना न्यूनीकरणका लागि सरकारले पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा ‘सडक दुर्घटना अध्ययन कार्यदल’ गठन गरेर अध्ययन गरिरहेको बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट गत पुस २९ गते गठन भएको उक्त कार्यदलमा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सदस्य छन् । उक्त कार्यदलले विगत एक–दुई महिनाभित्र नेपालका विभिन्न भागमा भएका दुर्घटनालाई विस्तृत अध्ययन गरेर अध्ययनको प्रतिवेदन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव सरकारलाई बुझाउनेछ ।

स्रोत : रासस
प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १९:०९

लोकप्रिय